-फणीन्द्र तिम्सिना
धरान/ प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं १ को राजनीतिक माहोल तातिएको छ।
नेकपा एमालेले सुनसरी–१ मा सूर्यप्रकाश पन्धाकलाई उम्मेद्वार बनाउने निर्णय गरेसँगै यो क्षेत्र बहुकोणीय र चर्चित प्रतिस्पर्धाको केन्द्र बनेको हो।
शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पन्धाकलाई उम्मेद्वार बनाउने टुंगो लगाएको हो।
शिक्षण पेशाबाट अवकाश प्राप्त पन्धाक एमाले कोशी प्रदेश कमिटी सदस्य तथा धरान निवासी हुन्। उनी एमालेभित्र बौद्धिक, इमानदार, भद्र र सालिन नेताका रूपमा परिचित छन्।
उता, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट धरान–१७ का निर्वाचित वडाअध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) लाई उम्मेद्वार बनाउने चर्चा चुलिएको छ। प्रदेश कमिटीबाट सर्वसम्मत सिफारिस भएको भनिए पनि भट्टराईले औपचारिक जानकारी भने नपाएको बताएका छन्।
यद्यपि, सामाजिक सञ्जाल र मिडियामा उनलाई बधाई दिने क्रम तीव्र बनेको छ।
यसै निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले उम्मेद्वारी घोषणा गरिसकेका छन्।
नगर कार्यपालिका बैठकमा साम्पाङ र वडाअध्यक्ष भट्टराईबीच भएका चर्का वादविवाद, सामाजिक सञ्जालमा भाइरल बनेका दृश्य र एक–अर्कालाई दिएका खुला चुनौतीले यो निर्वाचनलाई अझै रोचक बनाएको छ।
यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टी बाट पूर्वमन्त्री सुदन किराती पनि सुनसरी–१ बाट चुनावी तयारीमा जुटेका छन्। कांग्रेस, रास्वपा र राप्रपाले भने उम्मेद्वार टुंगो लगाउन बाँकी नै छ।
यसैबीच, राष्ट्रिय परिवर्तन पार्टी ले सुनसरी–१ बाट इन्द्रहाङ किराती लाई उम्मेद्वार घोषणा गरेको छ।
जेन–जी आन्दोलनका सहिद तथा घाइते परिवारको मुद्दा बोकेको दाबी गर्दै किरातीले पुराना दलहरूसँग कुनै चुनावी तालमेल नहुने स्पष्ट पारेका छन्।
स्थापित दलका अनुभवी नेता, स्थानीय तहबाट उदाएका लोकप्रिय पात्र र आन्दोलनबाट आएका नयाँ शक्तिहरू एकै मैदानमा उत्रिएपछि सुनसरी–१ को निर्वाचन राष्ट्रिय राजनीतिसमेत चासोका साथ हेरिएको प्रतिस्पर्धा बन्ने संकेत देखिएको छ।