फाईल तस्बिर
धरान/ धरान उपमहानगरपालिका–११ स्थित पुण्यमार्गमा खुकुरी प्रहारबाट एक युवकको दर्दनाक मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार धरान–११ का ३५ वर्षीय रुपक राई मंगलबार साँझ करिब ६ः३० बजे आफ्नै घरभित्र खुकुरी प्रहार गरी मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।
घटनासँग सम्बन्धित आरोपमा मृतककै मामाका छोरा धरान–११ कै ३३ वर्षीय रविन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हाल इलाका प्रहरी कार्यालय धरानमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।