सुनसरी/ सुनसरीकाे इटहरी -६ मा अवस्थित मोडर्न प्रिपेरेटरी माध्यमिक आवासीय विद्यालयले यही पुस २९ गते (मंगलबार) विद्यालय प्राङ्गणमा हजुरबुवा–हजुरआमाको आशीर्वाद महोत्सव आयोजना गर्ने भएको छ।
विद्यालयले हजुरबुवा–हजुरआमा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई अनुशासन, नैतिकता र उत्कृष्टता जस्ता जीवनमूल्यलाई पुस्ता–पुस्ताबीच हस्तान्तरण गर्ने शैक्षिक तथा सामाजिक चेतनाको अभियान का रूपमा लिएको जनाएको छ।
विद्यालयको शैक्षिक दर्शन अनुशासन, नैतिकता र उत्कृष्टता मा आधारित रहेको छ। विद्यालयका अनुसार जेष्ठ नागरिकको आशिर्वाद, अनुभव र मार्गदर्शन बिना साँचो शिक्षा पूर्ण हुन सक्दैन।
विद्यालयले हजुरबुवा–हजुरआमालाई समाजका ‘मौन गुरु’ का रूपमा परिभाषित गर्दै, उनीहरूको जीवन अनुभव, माया, मार्गदर्शन र आशीर्वादले बालबालिकाको वर्तमानलाई सुदृढ बनाउँदै भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममार्फत विद्यार्थीहरूमा
– आत्मअनुशासन र जिम्मेवारीबोध विकास गर्ने,
– सत्य, इमानदारी, सम्मान र करुणाजस्ता मानवीय मूल्यहरू प्रवाह गर्ने,
– अंक र पुरस्कारमा मात्र सीमित नभई सोच, व्यवहार र संवेदनशीलतामा उत्कृष्टता निर्माण गर्ने उद्देश्य विद्यालयले लिएको छ।
आजको प्रविधिमय, व्यस्त र सीमित पारिवारिक समयका कारण हजुरबुवा–हजुरआमा र नातिनातिनाबीच कमजोर बन्दै गएको सम्बन्धलाई पुनः मजबुत बनाउने सेतु का रूपमा यस महोत्सवलाई लिइएको विद्यालयले जनाएको छ।
महोत्सवले बालबालिकालाई पारिवारिक मूल्य, सांस्कृतिक पहिचान र जेष्ठ नागरिकप्रतिको सम्मान तथा कृतज्ञता विकास गर्न सहयोग पुग्ने विश्वास विद्यालयको छ।
साथै, हजुरबुवा–हजुरआमालाई सम्मान, गौरव र अपनत्वको अनुभूति दिलाउनुका साथै भावनात्मक खुशी र सामाजिक मान्यता प्रदान गर्ने अवसरसमेत रहने विद्यालय प्रशासनले जनाएको छ।
विद्यालय प्रशासनका अनुसार महोत्सव पुस २९ गते बिहान १० बजेर ३० मिनेटमा विद्यालय प्राङ्गणमा आयोजना हुने छ।
विद्यालयका प्राचार्य पद्मराज सापकोटाका अनुसार आधुनिक शिक्षा र सांस्कृतिक बुद्धि सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै, “जेष्ठ नागरिक बोझ होइनन्, समाजका अमूल्य सम्पत्ति हुन्” भन्ने सन्देश प्रवाह गर्न यो महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।