झापा/ बिगत तीन वर्षयता मेचीनगर नगरपालिकाले सञ्चालन गरेको घरदैलो खोजपड्ताल अभियानमार्फत ६६१ जना क्षयरोगी फेला परेका छन्। तीमध्ये ९४ प्रतिशत संक्रमित उपचारपछि पूर्ण रूपमा रोगमुक्त भएका छन्।
मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ भित्र मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्यसहित अभियान तीव्र बनाएको छ। यसैअनुसार स्वास्थ्य शाखाले घर–घरमै पुगेर क्षयरोगीको पहिचान, उपचार र निरन्तर निगरानी गर्दै आएको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन्।
उनका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामै ४६ जना नयाँ क्षयरोगी पहिचान भएका छन्। अघिल्ला वर्षहरूमा आव २०८१/८२ मा २१०, २०८०र८१ मा २०५ र २०७९/८० मा २०० जना क्षयरोगी फेला परेका थिए।
नगर प्रमुख गोपाल बुढाथोकीले क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यअनुसार सञ्चालन गरिएको अभियान प्रभावकारी देखिएको बताए। “समयमै पहिचान र उपचारका कारण मृत्युदर अत्यन्त न्यून छ,” उनले भने।
स्वास्थ्य शाखा प्रमुख सापकोटाका अनुसार अन्य गम्भीर रोगसँगै संक्रमित भएकाहरूको उपचारकै क्रममा मृत्यु हुने घटना बाहेक क्षयरोगकै कारण हुने मृत्युदर न्यून रहेको छ। जोखिमयुक्त क्षेत्र पहिचान गरी सक्रिय खोजी गर्ने र अति विपन्न क्षयरोगीलाई पोषण सहयोगसमेत प्रदान गरिँदै आएको उनले बताइन्।
क्षयरोगीलाई वार्षिक रूपमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल वितरण गरिँदै आएको छ। साथै, लगत संकलन गरिएका बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गराउने र नियमित फलोअप भइरहेको छ।
क्षयरोगी पहिचानलाई थप प्रभावकारी बनाउन नगरपालिकाले एआई प्रविधिको सहायतामा छातीको एक्स–रे परीक्षण गर्दै आएको छ। यसका लागि वडा नम्बर २, ४, ७, १०, १२ र १५ मा एक्स–रे शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।