धरान/ सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको छ।
गएराति करिब १ बजे सशस्त्र प्रहरी बलको बेस क्याम्प(बीओपी) लौकहीले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए।
प्रहरीका अनुसार भारतबाट चिनी लोड गरी सिटी सफारीमार्फत नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा साहमाथि गोली प्रहार गरिएको हो। मृतक साहले आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी भारतबाट नेपाल ल्याइरहेका थिए। तस्करी नियन्त्रण गर्ने क्रममा गोली चलाउनु परेको सशस्त्र प्रहरीको दाबी छ।
तर, घटनाप्रति स्थानीयवासीले कडा असन्तुष्टि जनाएका छन्। उनीहरूले ‘सेटिङको पैसा नदिएकै कारण सशस्त्र प्रहरीले गोली प्रहार गरेको’ आरोप लगाउँदै शव उठाउन नदिई प्रदर्शन गरिरहेका छन्।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्याँस समेत प्रहार गरेको छ। हाल घटनास्थल तनावग्रस्त रहेको जनाइएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट गोलीको खोका फेला परेको छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।