धरान/ कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले भेडेटारलाई पूर्वी नेपालको प्रमुख पर्यटन हबका रूपमा विकास गर्ने सरकारको तयारी रहेको बताएका छन्।
भेडेटारजस्ता पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचार–प्रसार गर्न सके पर्यटन प्रवर्द्धनसँगै राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।
कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा १३औँ संस्करणको भेडेटार फुड एण्ड फेस्टिवल सुरु भएसँगै भारतीय पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढेको छ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर होटल एशोसिएसन भेडेटारले आयोजना गरेको महोत्सवले विशेषगरी भारतको बिहार र पश्चिम बंगाल क्षेत्रका पर्यटकलाई आकर्षित गरेको हो।
भेडेटार घुम्न आएका भारत बिहार पुर्णियाका रोहित रायले दुई वर्षअघि नयाँ वर्ष मनाउन यहाँ आएको अनुभव सुनाउँदै यस पटक पनि भेडेटारको प्राकृतिक सौन्दर्यले मन लोभ्याएको बताए।
“यहाँको दृश्य निकै सुन्दर छ, घुम्न लायक गन्तव्य हो,” उनले भने। परिवारसहित आएका अर्का भारतीय पर्यटक एम.डी. तोर्की रानाले भने, “म सिलिगुडी र कस्र्याङ घुमेँ, तर भेडेटार बिल्कुलै फरक र युनिक लाग्यो।”
बुधबार देखि (शुक्रबार) पुस १८ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले गरेका हुन्।
उद्घाटन समारोहमा मन्त्री मण्डलले भेडेटारको संस्कार, संस्कृति र मनोरम दृश्यको प्रचार–प्रसारमा भारतीय सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए।
च्याब्रुङ, साकेला र हुर्रा नाचतर्फ संकेत गर्दै उनले नेपालको भेषभूषा, संस्कृति र खानपान विश्वमै फरक रहेको उल्लेख गरे।
भेडेटारमा बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याउने उद्देश्यले यस वर्ष भारत बिहारका पत्रकार तथा सञ्चारकर्मीलाई विशेष प्राथमिकता दिइएको होटल एशोसिएसन भेडेटारले जनाएको छ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईका अनुसार प्राकृतिक सौन्दर्यले भरिपूर्ण भेडेटारलाई भारतीय पर्यटकमाझ परिचित गराउन त्यहाँका सञ्चारमाध्यमसँग सहकार्य गरिएको हो।
घरेलु उत्पादनको स्टल, अर्ग्यानिक तरकारी तथा फलफूल, हस्तकला, जातीय खाना लगायतको २२ वटा जति क्यानोपी स्टलहरु राखिएको होटल एशोसिएसन् भेडेटारका अध्यक्ष तथा फेस्टिबलका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए ।
यस वर्ष पर्यटकलाई गेटमै फूलमालाले स्वागत गर्ने, उनीहरूबाट सुझाव संकलन गर्ने र स्थानीय कृषि उत्पादन खरिद गरेर लैजान सक्ने नयाँ अभ्यास सुरु गरिएको छ।
साथै लाइभ किचन, फास्ट इटिङ च्यालेन्ज, लोकल सेफ ब्याटलजस्ता मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुँदैछन्।
फुड फेस्टिवलसँगै कृषि मेला प्रदर्शनी–२०८२ पनि सुरु गरिएको छ, जहाँ ५३ जना कृषकले उत्पादन गरेका सागसब्जी, अन्न तथा फलफूल प्रदर्शनीमा राखिएका छन्। उत्कृष्ट कृषकलाई पुस १८ गते पुरस्कृत गरिनेछ।
महोत्सव उद्घाटन समारोहकै क्रममा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै दुई पत्रकारलाई नगद १०/१० हजार रुपैयाँसहित सम्मान गरिएको छ।
सम्मानित हुनेमा धरानमा अव्यवस्थित गणतन्त्र एफएम तथा गणतन्त्रखबर डट कमका संचालक तथा सम्पादक रोहितकुमार बस्नेत (डेविट) र धनकुटाका नारायण राई रहेका छन्।