वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–१ सूर्यकुण्डमा रहेको सूर्यकुण्ड माध्यमिक विद्यालयले ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।
यसै शैक्षिक सत्रदेखि माध्यमिक तहको कक्षा सञ्चालन थालेको विद्यालयले आइतबार विभिन्न औपचारिक कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यालयलाई जग्गा दान गर्ने दाताहरूलाई सम्मान, सेवा निवृत्त प्रधानाध्यापकलाई विदाइ तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो ।
कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, वडा नं. १ का अध्यक्ष किसन मगर, वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम, नगर शिक्षा विकास समितिका सदस्य ज्ञानबहादुर पाण्डे, गोकुल गुरागाईं, विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, पूर्व शिक्षक, समाजसेवी तथा दाताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक सत्यनारायण साहले विद्यालयको इतिहास, वर्तमान अवस्था र भावी योजना प्रस्तुत गर्दै वार्षिक प्रतिवेदन सार्वजनिक गरे ।
कार्यक्रममा विद्यार्थीहरूले स्वागत तथा सामूहिक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । साथै सेवा निवृत्त निवर्तमान प्रधानाध्यापक दिनेशराज कार्कीलाई सम्मानसहित विदाइ गरिएको थियो भने विद्यालयका लागि जग्गा दान गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक हिम कार्कीले गरेका थिए । वि.सं. २०३४ सालमा स्थापना भएको सूर्यकुण्ड माध्यमिक विद्यालय वराहक्षेत्रको पहाडी तथा ऐतिहासिक सूर्यकुण्ड क्षेत्रमा अवस्थित छ ।