धरान/ धरानमा बी.ए. उत्तीर्ण गर्ने पहिलो व्यक्तित्वका रूपमा परिचित स्वर्गीय **कृष्णप्रसाद श्रेष्ठ (बीए कृष्ण)को स्मृतिमा प्रकाशित स्मृति ग्रन्थको लोकार्पण शनिबार धरानस्थित गीता मन्दिरमा भव्य रूपमा सम्पन्न भएको छ।
धरानमा ‘कृष्ण’ नामधारी धेरै व्यक्ति रहेकाले छुट्याउन सहज होस् भन्ने उद्देश्यले उहाँलाई त्यस समय ‘बीए कृष्ण’ भनेर सम्बोधन गरिन्थ्यो। यही नाम नै पछि गएर उहाँको पहिचान र सम्मानको प्रतीक बनेको थियो।
कार्यक्रमका सभाध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ रहनुभएको थियो भने स्वागत मन्तव्य किशोर श्रेष्ठले दिनुभएको थियो। ९८ वर्षीय प्राज्ञ प्रा. पुरुषोत्तम भट्टराई प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रा.डा. टंकप्रसाद न्यौपाने तथा बेलायतका लागि निवर्तमान नेपाली राजदूत एवं नेपाल सरकारका पूर्व सचिव चन्द्रकुमार घिमिरे सहभागी रहनुभएको थियो।
प्रमुख अतिथि भट्टराईसहित विशिष्ट अतिथिहरूले संयुक्त रूपमा स्मृति ग्रन्थको लोकार्पण गर्नुभएको थियो। स्मृति ग्रन्थमाथि प्रा.डा. खेमनाथ दाहालले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै ‘बीए कृष्ण’को शैक्षिक, सामाजिक र मानवीय योगदानलाई गहिराइमा उजागर गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिद्वय घिमिरे र न्यौपाने, प्रा.डा. बद्री विशाल पोख्रेल, प्रा.डा. आनन्दप्रसाद आचार्य, गोकुलप्रसाद श्रेष्ठ तथा प्रा.डा. गोपाल भण्डारीलगायत वक्ताहरूले ‘बीए कृष्ण’लाई स्मरण गर्दै शिक्षा र समाजप्रतिको उहाँको योगदान प्रेरणादायी रहेको उल्लेख गर्नुभयो। अधिकांश वक्ताहरूले स्मृति ग्रन्थ प्रकाशनमार्फत परिवारजनले उहाँलाई युगौँसम्म जीवन्त राख्ने पुण्यकार्य गरेको भन्दै खुलेर प्रशंसा व्यक्त गरे।
यसै अवसरमा स्व. श्रेष्ठका बुहारी सुलोचना श्रेष्ठ र छोरी पुष्पा श्रेष्ठले भावुक मन्तव्य राख्दै समाजप्रति उहाँले पुर्याउनुभएको योगदानको स्मरण गर्नुभयो।
स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको जन्म वि.सं. १९९१ असार २३ गते भएको थियो भने वि.सं. २०७७ मंसिर १४ गते उहाँको देहान्त भएको थियो।
उहाँले वि.सं. २००६ सालमा पब्लिक हाईस्कुलबाट प्रथम श्रेणीमा एस.एल.सी., २००८ सालमा त्रिचन्द्र कलेजबाट आई.ए., तथा वि.सं. २०१० सालमा काशी हिन्दू विश्वविद्यालयबाट बी.ए. उत्तीर्ण गर्नुभएको थियो।
कार्यक्रममा प्रा.डा. भोलानाथ पोख्रेल, राजबिमल श्रेष्ठ, हरेराम कर्माचार्य, वीरेन्द्र सिंह थापा, केशव सुनाम, डम्बर बुढाथोकी, गोविन्दमान श्रेष्ठ, मोहन श्रेष्ठ, गौरवमान श्रेष्ठ, भोजराज श्रेष्ठ, सिनेट श्रेष्ठलगायत परिवारजन, आफन्त तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।