धरान/ नेपालको पहिलो पवित्र तीर्थस्थलका रूपमा परिचित वराहक्षेत्रमा १०० करोड दीप प्रज्वलनसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ।
महायज्ञ आगामी माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ।
श्री वैकुण्ठनाथ दिव्य धाम काठमाडौँ र लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराको संयुक्त आयोजनामा हुन लागेको यस भव्य धार्मिक अनुष्ठानबारे शुक्रबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
कोकाह र कौसिकी नदीको पवित्र सङ्गमस्थल वराहक्षेत्रमा आयोजना हुने महायज्ञमा देश–विदेशबाट लाखौँ भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ।
आयोजकका अनुसार दीप प्रज्वलनमार्फत आध्यात्मिक चेतना फैलाउने र विश्व शान्तिको सन्देश दिने लक्ष्य राखिएको छ।
समाजसेवी तथा धार्मिक अभियन्ता हरि महतले १०० करोड दीप प्रज्वलन अभियान धार्मिक इतिहासमै दुर्लभ र ऐतिहासिक हुने दाबी गरे। उनका अनुसार यस्तो विशाल अभियानले वराहक्षेत्रको धार्मिक महत्त्वलाई विश्वसामु थप उजागर गर्नेछ।
महायज्ञका प्रमुख संरक्षक अनन्त श्री विभूषित १००८ स्वामी भागवताचार्य महाराज रहनेछन्।
कथावाचनमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त युवा विद्वान पण्डित दिनबन्धु पोखरेल रहने भएका छन् भने हरि महत स्वयं पनि विशेष भूमिकामा सहभागी हुनेछन्।
कार्यक्रमका सेवा संयोजक रुकुम नेपालले भक्तजनको सहज, सुरक्षित र व्यवस्थित सहभागिता सुनिश्चित गर्न पूर्वाधार, सुरक्षा र व्यवस्थापनका तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए।
वराहक्षेत्रलाई आध्यात्मिक केन्द्रका रूपमा विश्वस्तरमा चिनाउने विश्वाससहित आयोजकले सबै श्रद्धालु भक्तजनलाई सहभागिताका लागि आह्वान गरेका छन्।