धरान/ सुनसरीमा प्रहरीले एकैदिन दुई छुट्टाछुट्टै स्थानबाट ठूलो मात्रा लागुऔषध गाँजा बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा गरिएको निगरानी तथा चेकजाँचपछि प्रहरीले कुल २४ किलोभन्दा बढी गाँजा फेला पारेको हो।
पहिलो घटना मिति २०८२।०८।२१ गते साँझ ४ बजेतिर इटहरी उप–महानगरपालिका–४ मनकामना चोकमा भएको थियो। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले धनकुटा, साँगुरीगढी–१० का २९ वर्षीय बिरेन्द्र राईलाई चेकजाँच गर्ने क्रममा उनलाई बोकेको झोलामा ५.०३० किलोग्राम गाँजा फेला पारेपछि नियन्त्रणमा लिएको छ।
पक्राउ परेका राईलाई लागुऔषध सहित इटहरी प्रहरीमा बुझाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, ४:५० बजे बराहक्षेत्र नगरपालिका–११ मनाही टोलमा दोस्रो अपरेसन सञ्चालन गरियो। प्रहरी चौकी मधुवनबाट खटिएको टोलीले प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाइकललाई रोक्दै जाँच गर्दा सवार दुईजनाको साथबाट १९ किलोग्राम गाँजा बरामद गरेको हो।
मोटरसाइकल चालक सुनसरी, कोशी गाउँपालिका–६ का २१ वर्षीय रामनाथ यादव र पछाडि सवार भारत बिहार सुपौलका १९ वर्षीय भूषण कुमार यादवले बोकेको झोलामा ८ पोका र लेग–गार्डका झोलामा ११ पोका गरी जम्मा १९ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।
फेला परेका लागुऔषध तथा मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।