धरान/ मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीय अंशु गौतमको बलात्कारपछि घाँटी रेटेर हत्या गरेको अभियोगमा ५९ वर्षीय छिमेकी पदम अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अधिकारीलाई सार्वजनिक गरेको हो। उनी मृतककै छिमेकी र पेशाले ज्याला–मजदूरी गर्ने व्यक्ति हुन्। प्रहरीले जनाएको छ कि अधिकारी घटना खुल्न नपरोस् भनी भारत भागेका थिए। निरन्तर खोज र सुराकीका आधारमा उनलाई नेपाल फर्कने क्रममा पक्राउ गरिएको छ।
अंशु असोज २१ गते घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् । तर साँझसम्म घर नफर्केपछि परिवारले खोजतलास सुरु गर्यो।
भोलिपल्ट प्रहरीमा निवेदन दिएपछि व्यापक खोजी सुरु भयो। बेपत्ता भएको १८ दिनपछि, कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र सडेगलेको, क्षतविक्षत अवस्थामा शव फेला परेको थियो। शरीर र टाउको छुट्टिएको, कपडा छेउमै फालिएको अवस्थामा भेटिएको शवको पहिचान चप्पल, कपडा र डीएनए परीक्षणबाट पुष्टि भएको थियो।
प्रहरी अनुसन्धानले खुलाएको अनुसार अधिकारीले विद्यालय नजिकै खेल्ने बहाना बनाएर अंशुलाई साथीबाट छुट्याएका थिए। छेउमै रहेकी साथीलाई ५ रुपैयाँ दिएर दिदी खोज्न पठाइदिएपछि अंशुलाई “घाँस काट्न सघाउन जाऊ” भन्दै जंगलतिर लगे। साइकलमा करिब ४ किलोमिटर जंगल भित्र पुर्याएर बलात्कार गरेका थिए। घटना बताइदिने डरले अधिकारीले हसियाँले घाँटी रेटेर हत्या गरे। प्रमाण लुकाउन शरीरका अङ्ग टुक्रिएको अवस्थामा भेटिएको थियो।
जिल्ला प्रहरी, कोशी प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को संयुक्त टोलीले मोबाइल डेटा, कल डिटेल, फरेन्सिक जाँच, समुदाय प्रोफाइलिङ र घटनास्थल पुनर्निर्माणको आधारमा अनुसन्धान अघि बढाएको थियो। ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ गरिएको र ४५ जनाको लिखित बयान संकलन गरिएको थियो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार अंशुले घटना आफन्तलाई बताइदिन्छिन् भन्ने डरले अधिकारीले हत्या गरेको पुष्टि भएको छ। शव सडिसकेको, टाउको छुट्टिएको र जंगलको गहिराइले अनुसन्धान जटिल भए पनि वैज्ञानिक विधि प्रयोग गरी हत्यारा पक्राउ गरिएको छ।
पोस्टमार्टम भइसके पनि परिवारले न्याय नपाएसम्म शव बुझ्ने छैनन् भनी अडान राखेको कारण शव ४५ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएको छ। आरोपी पदम अधिकारीविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार करणी र ज्यानसम्बन्धी अपराध दर्ता गरिएको छ।
कक्षा ५ मा अध्ययनरत अंशुको निधनले स्थानीय समुदायमा ठूलो आक्रोश छ। सबैले अपराधीलाई कडा भन्दा कडा सजाय दिन माग गरेका छन्।