सुनसरी/ बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको प्रमुख गन्तव्य बनेको छ।
केही वर्षअघिसम्म सुनसान रहने यो क्षेत्र अहिले सूर्यास्तको मनमोहक झल्को, नदी किनारको खुला भू–दृश्य, क्याम्प फायर, रिसोर्ट र खानापसलको विस्तारसँगै दैनिक हजारौँको भेटघाट बढेको छ।
स्थानीय व्यवसायी बिकुल श्रेष्ठका अनुसार मङ्सिर १ देखि सुरु गरिएको क्याम्प फायर सेवा विशेष रूपमा लोकप्रिय बनेको छ।
उनका अनुसार अहिले १० जना कामदारसहित क्याम्प फायर सञ्चालनमा छ र स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा स्वाद लिन आउनेको संख्या उल्लेख्य छ।
चार वर्ष विदेश बसेर फर्किएका श्रेष्ठले पहिले डेरी, सफारी र ग्यारेज व्यवसाय चलाए पनि अहिले सबै छोडेर पर्यटन प्रवर्द्धनमै लागेका छन्।
उनका अनुसार राति बस्न चाहनेका लागि प्रतिव्यक्ति रु १,००० मै टेन्ट, सिरक र डस्नासहित सुविधा उपलब्ध छ।
‘बोराबाध’ नामकरणको कारण सप्तकोशीको कटान रोक्न बोरामा सिमेन्ट भरेर बनाइएको बाँध हो।
सुरुमा केही रुख र एउटा चटपटे पसल मात्र रहेको यो स्थान अहिले रिसोर्ट, कफी सप, खाजा पसल र क्याम्प फायर गरी आधा दर्जनभन्दा बढी व्यवसायले सजिएको छ।
स्थानीय भीषण राईका अनुसार खासगरी सूर्य अस्ताउने बेलामा यहाँ अत्यधिक भीड हुन्छ।
दैनिक २,००० देखि २,५०० पर्यटक आउँछन् भने शनिबार त्यो संख्या ५,००० नाघ्ने गरेको छ। उनका अनुसार पहिले सूर्योदय हेर्न इलामको श्रीअन्तु पुग्ने चलन थियो भने अहिले सूर्यास्त हेर्न ‘बोराबाध’ आउने क्रम तीव्र बनेको छ।
कोशीको पानीमा सूर्य अस्ताउँदा पर्ने सुनौलो झल्को फोटो र भिडियो खिच्नकै लागि धेरै युवायुवती यहाँ आकर्षित हुने गरेको उनको भनाइ छ।
सुनसरीका इटहरी, धरान, इनरुवा र मोरङ–झापादेखि विराटनगरसम्मका ठाउँबाट दैनिक रूपमा ठूलो संख्यामा पर्यटक बोराबाध आइपुग्ने गरेका छन्।
इटहरीबाट साथीहरूसहित आएकी सरिता श्रेष्ठ भन्छिन्, “पहिले बराहक्षेत्र आउँदा चतरापुल र मन्दिरसम्म मात्र पुगिन्थ्यो, अहिले त बोराबाध नै मुख्य गन्तव्य बनेको छ। साँझपख कोशीमा पर्ने प्रकाश निकै सुन्दर देखिन्छ, फोटोका लागि मात्र पनि हप्तामा दुई–तीन पटक आउँछौँ।”
प्राकृतिक सौन्दर्य, मनमोहक सूर्यास्त, क्याम्प फायरको वातावरण र स्थानीय खानाको स्वादका कारण ‘बोराबाध’ छोटो समयमै नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
यसले स्थानीय रोजगार, आय वृद्धि र व्यवसाय विस्तारमा ठूलो योगदान दिइरहेको छ भने थप पूर्वाधार निर्माण, पार्किङ सुविधा र आकर्षक संरचना विकासका माग पनि बढ्न थालेका छन्।
-रासस