सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ६० एम्पुल प्रतिबन्धित औषधिसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ १६:१२ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको टोलीले उदयपुर, चौदण्डीगढी–६ का ३० वर्षीय नाम्सु आले मगरलाई पूर्वबाट पश्चिमतर्फ पैदल हिँडिरहेका बेला शंकास्पद देखिएपछि रोकेर चेकजाँच गरेको थियो।
खानतलासीका क्रममा उनले बोकेको झोलाभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र ब्रुपेनोर्फिन २० एम्पुल लगायत गरी जम्मा ६० एम्पुल लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका मगरलाई बरामद गरिएको लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।