धरान/ सुनसरीको धरानतर्फ आउँदै गरेको पिकप गाडीबाट प्रहरीले ठूलो परिमाणको अवैध लागुऔषध गाँजा बरामद गरेको छ। तातोपानीबाट धरानतर्फ आउँदै गरेको को १ ज २१७८ नम्बरको गाडीमा गरिएको चेकजाँचका क्रममा प्रहरीले ५० केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूमा गाडी चालक धनकुटा सागुरीगढी–९ का खड्गबहादुर मगराती र सहचालक दुर्गे विक रहेका छन्। उनीहरूलाई विष्णुपादुका प्रहरी चौकी, सुनसरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा पठाइएको छ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईका अनुसार चेकजाँचका क्रममा गाडीको पछाडिबाट दुई जना अचानक हाम फालेर फरार भएका छन्। उनीहरूको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले प्लास्टिकमा प्याक गरिएका अवस्थामा गाँजा फेला पारेको र पक्राउ परेकाहरूको साथबाट दुई थान मोबाइल फोन समेत बरामद गरेको जानकारी दिएको छ। पछिल्लो समय सुनसरीका विभिन्न स्थानमा प्रहरीले ठूलो मात्रामा गाँजा नियन्त्रणमा लिँदै आएको र यस सम्बन्धमा निरन्तर अनुसन्धान तथा निगरानी बढाइएको छ।