धरान/ धरान प्रहरीले गएराति ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद गरेको छ।
धरान–१३, जिरो प्वाइन्ट नजिक अस्थायी प्रहरी चौकी अमरहाटबाट प्रहरी निरीक्षक मनोज कुमार बलको नेतृत्वमा खटिएको टोलीले झण्डै २५ किलोग्राम गाँजा र एक मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबू राईले जानकारी दिए।
गएराति करिब ११:३० बजे शंकास्पद रूपमा सामान बोक्दै गरेको मोटरसाइकललाई प्रहरीले रोक्न खोजेपछि चालक फरार बनेको थियो।
फरार भएको मोटरसाइकललाई अमरहाट र तीनकुनेबाट खटिएको प्रहरी प्रमुख युवराज दाहालको टोलीले पछ्याउँदै धरान–तरहरा सिमाना पानीपिया नजिक सडकछेउमा को ११ प ४६३५ नं.को मोटरसाइकल फेला पारेको प्रहरीको भनाइ छ।
पछ्याउने क्रममा प्रहरी टोलीले धरान–६ पानबारी–सेउती भित्री सडकखण्डतर्फ खोजतलास विस्तार गरेको थियो। त्यही क्रममा पानबारी सामुदायिक वन क्षेत्रमा प्लास्टिक र जेब्रा झोलामा राखेर फालिएको अवस्थामा २५ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा र मोटरसाइकल इलाका प्रहरी कार्यालय धरानमा राखी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा फरार व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।