सुनसरी/ विशेष सूचनाका आधारमा गरिएको प्रहरीले चेकजाँचमा ईनरुवामा ठूलो परिमाणको ब्राउनसुगर बरामद गरेको छ।
मंगलवार दिउँसो १२:१५ बजेतिर ईनरुवा नगरपालिका–४ बसचौक नजिक लागू औषध ओसारपसार भइरहेको भन्ने गोप्य जानकारीपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाबाट खटिएका प्रहरी टोलीले चिरौलीतर्फबाट आउँदै गरेको प्र १–०२–०५६ प ८२०५ नं. को स्कुटी रोकेर चेकजाँच गरेको हो।
स्कुटी चालक इटहरी उपमहानगरपालिका–२० निवासी ५२ वर्षीय गोबिन्द तामाङको खानतलासी गर्दा उनले लुकाइछिपाइ राखेको ८.८९ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
लागू औषधसहित तामाङलाई स्कुटीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाई थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रहरीले लागू औषध नियन्त्रण अभियानलाई अझ कडाइका साथ निरन्तरता दिइरहेको जनाएको छ।