वराहक्षेत्र/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वराहक्षेत्र नगर समितिले आयोजना गर्ने खेलकुद सप्ताह मंसिर ५ गतेदेखि सुरु हुने भएको छ।
मंसिर १३ गतेसम्म चल्ने खेलकुद महोत्सवमा वराहक्षेत्रका १९ वटा निजी विद्यालयका १ हजार ४४ जना विद्यार्थी खेलाडीका रूपमा प्रतिस्पर्धा गर्न तयार छन्।
शनिबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिँदै प्याब्सन वराहक्षेत्र नगर समितिले यस वर्षको खेलकुद सप्ताहलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने बतायो।
प्याब्सन वराहक्षेत्र नगर समितिका अध्यक्ष खेमराज राईका अनुसार फुटबल, व्याडमिन्टन, म्याराथन, ५ किलोमिटर रन लगायतका विभिन्न विधामा छात्र–छात्राले प्रतिस्पर्धा गर्नेछन्। “बिद्यार्थीको प्रतिभा र क्षमता पहिचान गर्दै नेतृत्व, अनुशासन र खेल Spirit विकास गर्न यो कार्यक्रम महत्वपूर्ण छ,” अध्यक्ष राईले भने।
कार्यक्रम अन्तर्गतका खेलहरू वराहक्षेत्र–३ नडाहास्थित एभेष्ट फुटबल क्लबको मैदान र वराहक्षेत्र–५ कालाबञ्जरस्थित जडेज माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने छन्। उद्घाटन तथा समापन समारोह नडाहास्थित एभेष्ट फुटबलमैदानमै हुनेछ।
पूरै कार्यक्रम सम्पन्न गर्न करिब ७ लाख बजेट विनियोजन गरिएको आयोजकले जनाएको छ।