विराटनगर/ कुनै पनि उद्योगको दीर्घकालीन स्थायित्व ऊर्जा बचत र दक्षतासँग जोडिन्छ । यही विषयलाई जोड्दै उद्योग प्रतिष्ठानहरूमा ऊर्जा दक्षता अभिवृद्धिका लागि आवश्यक वित्तीय श्रोत कसरी जुटाउने भन्ने विषयमा विराटनगरमा बिहिबार व्यापक छलफल भएको छ।
उद्योग संगठन मोरङको समन्वयमा, नेपाल बैंकर्स एशोसिएशन र जिआईजेड नेपालको आयोजनामा गरिएको छलफलमा ऊर्जा दक्षताका परियोजनामा लगानी कसरी सहज बनाउने भन्ने विषयमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले प्राविधिक तथा प्रक्रियागत जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ऊर्जा दक्षता “केवल खर्च बचत र वातावरणीय दायित्व मात्र नभइ उद्योगको भविष्य सुरक्षित गर्ने अनिवार्य पुँजीगत लगानी” भएको उल्लेख गर्दै निजी क्षेत्र र बैंकबीचको सहकार्य सुदृढ हुन सके ऊर्जा दक्षता क्षेत्रमा ‘उल्लेखनीय छलाङ’ सम्भव रहेको बताए।
यस्तै, वित्तीय विशेषज्ञ अनल भट्टराईले ऊर्जा दक्षता परियोजनामा लगानी गर्न स्पष्ट नीति, जोखिम मूल्यांकन प्रणाली तथा प्राविधिक मार्गदर्शन अनिवार्य हुने उल्लेख गरे। उनका अनुसार बैंकहरू ऊर्जा दक्षता परियोजनामा वित्त प्रवाह बढाउन इच्छुक छन्, तर उद्योग प्रतिष्ठानले ऊर्जा अडिट गरी आवश्यक संरचनागत परिवर्तनका लागि पूर्वतयारी पूरा गर्नुपर्ने हुन्छ।
जिआईजेड/रिपका कार्यक्रम व्यवस्थापक डा. संजय गोर्खालीले ऊर्जा दक्षताका लागि ‘व्यवहारिक वित्तीय संयन्त्र’ निर्माण अत्यावश्यक रहेको भन्दै, जिआईजेडले निजी क्षेत्र र बैंकहरूबीच सहकार्य बढाउन निरन्तर नीति तथा प्राविधिक सहयोग गरिरहेको बताए।
कार्यक्रममा संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा र सुवोध कोईरालाले ऊर्जा दक्षतामा लगानी प्रोत्साहन गर्न नीति सुधार, क्षमता अभिवृद्धि तथा सहयोगी कार्यक्रमहरूलाई प्राथमिकतामा राखिनुपर्ने धारणा राखे।
यस्तै, उर्जा समिति संयोजक सन्तोष भगत र कार्यसमिति सदस्य सृजन प्याकुरेलले आगामी दिनमा ‘व्यवहारिक र दीर्घकालीन वित्त संयन्त्र’ विकास गर्नुपर्नेमा जोड दिए।
छलफल कार्यक्रममा उद्योग प्रतिष्ठानका प्रमुखहरू, वित्तीय संस्थाका प्रतिनिधि तथा चार्टर्ड एकाउन्टेन्टहरूको उल्लेखनीय सहभागिता थियो।