धरान/धरानमा मगर समुदायले आफ्नो मौलिक सांस्कृतिक पहिचान जोगाउँदै पुस्ता हस्तान्तरणको सन्देशसहित सामूहिक ‘हुर्रा नाच’ प्रदर्शन गरेका छन्।
नेपाल मगर संघ धरान समितिको आयोजनामा शनिबार धरान–१० स्थित सैनिक भवनमा आयोजित कार्यक्रममा मगर समुदायका दर्जनौँ समूहले परम्परागत पोसाक र ढोल–मादलको तालमा सामूहिक नाच प्रस्तुत गरेका थिए।
कार्यक्रमका विशिष्ट अतिथि धरान उपमहानगरपालिकाका उप–प्रमुख अईन्द्र बिक्रम बेघाले धरानलाई सबै जातजाति, धर्म र संस्कृतिको साझा सहअस्तित्वको शहरको रूपमा चिनाउँदै भने,
“धरान अरु शहरभन्दा बेग्लै हो। यहाँ सबै समुदायले संस्कार र संस्कृतिको सम्मान गर्दै सहकार्यका साथ अघि बढेका छन्। सांस्कृतिक विविधताले नै धरानलाई समृद्ध बनाएको छ।”
उप–प्रमुख बेघाले समुदायले आफ्नो मौलिक सांस्कृतिक सम्पदा जोगाएर सहरको पहिचान बलियो बनाउन जोड दिए।
संघका अध्यक्ष चित्र थापा मगरले भने,
“हुर्रा नाच हाम्रो समुदायको मौलिक चिनारी हो। यसलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो।”
उनका अनुसार तिहारको अवसर पारेर हरेक वर्ष सामूहिक हुर्रा नाचको आयोजना गरिँदै आएको छ, जसले हराउँदै गएको संस्कृतिलाई पुनर्जीवन दिन मद्दत पुर्याएको छ।
थापा मगरले हुर्रा नाचको उद्गमस्थल नेपालको पूर्वी पहाडी भूभाग — हालको चौविसे गाउँपालिका क्षेत्र रहेको बताउँदै यस नाच धनकुटा, मोरङ (लेटाङ–केराबारी) र धरान क्षेत्रका मगर समुदायबीच लोकप्रिय रहेको जानकारी दिए।
कार्यक्रममा स्थानीय मगर समुदाय, युवा पुस्ता र छिमेकी गाउँपालिकाबाट आएका पाहुनाहरूको उत्साहपूर्ण सहभागिता थियो।
सांस्कृतिक कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष चित्र थापा मगरले गरेका थिए भने प्रमुख अतिथि धरान उप–महानगरका मेयर हर्क साम्पाङ उपस्थित हुन नसकेका थिए। कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय महासचिव शारदा थापा मगर, उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठ, पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायत विभिन्न जातीय संघ–संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।