-फाइल तस्बिर
झापा/ झापाको मेचीनगर नगरपालिकामा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट करिब तीन करोड ३३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको खुलेको छ।
नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष दिपक बरालले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, आन्दोलनका क्रममा नगर कार्यालय र विभिन्न वडा कार्यालयमा आगजनी, तोडफोड तथा मालसामान नष्ट हुँदा करिब रु. ३३,३२८,१९८ बराबरको क्षति पुगेको हो।
प्रवक्ता बरालका अनुसार, नगरपालिकाको मुख्य कार्यालयमा मात्रै ६८ लाख १६ हजार रुपैयाँभन्दा बढी बराबरको क्षति पुगेको छ।
त्यस्तै, वडा नं. १ देखि १० र वडा नं. १५ सम्मका कार्यालयमा करिब ९६ लाख ७५ हजार रुपैयाँभन्दा बढी बराबरको क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नगरपालिकाले यसलाई प्रारम्भिक मूल्यांकन मानेको र थप विवरण संकलन भइरहेको जनाएको छ।
यसअघि भदौ २४ गतेको आन्दोलनका क्रममा नगर कार्यालयमा आगजनी, फर्निचर र कागजात जलाउने, उपकरण तोडफोड गर्ने लगायतका घटनाहरू भएका थिए।
प्रवक्ता बरालले भने, “नगरपालिकाका संरचना र सामग्रीमा ठूलो क्षति पुगेको छ। घटनाको सम्पूर्ण विवरण संकलनपछि विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छौं।”