इलाम/ बजारमा हरेक उपभोक्ता हरेक बस्तुको खरिदका समयमा हरेक पटक हरेक ब्यापारीबाट ठगिने गरेको उपभोक्तालाई मात्र होइन, प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीदेखि अन्य सबैलाई प्रष्ट थाहा छ । न पसलमा राखिएका सबै सामानको मूल्यसूची नै देखिन्छ, न मूल्यसूची नराखेबापत कहिल्यै कसैले कारबाही भोग्नु परेको छ ।
यस्तो अवस्थामा गरिस् भन्दा गरेँ भने झै हुने बजार अनुगमनले उपभोक्तालाई कत्तिको राहत मिल्ला ? हरेक पसल र होटलमा त्यहाँ बिक्री गरिने सबै खाले सामानको मूल्यसूची अनिवार्य हुनुपर्दैन ? चाडबाडको मुखमा गरिने बजार अनुगमनमा सबैखाले ब्यवसाय पर्नुपर्दैन ? बर्षमा एकैपटक नै होस्, यसअघि गरिएका त्यस्ता अनुगमनका क्रममा हरेक पटक एउटै कुरा दोहोरिइरहँदा पनि चल्ने ? मंगलबार भएकोे अनुगमनमा पनि पसलहरूमा मूल्य सूची नराखेको, म्याद नभएको खाद्य वस्तु भेटिदा पनि सुधार गर्नु भन्न बाहेक केहि हुन सकेन । केहि दिन अघिको बजार अनुगमनमा अवैध पेय पदार्थ भेटिएपनि उक्त पसललाई कार्वाही गर्ने आँट कसैले गरेन ।
बर्षौँदेखि यिनै कुरा भेटिएको भेटिएकै छ बजार अनुगमनका क्रममा ।
के यो नियन्त्रण चाहिँ गर्नुपर्दैन ? मंगलबार पनि इलाम बजार अनुगमन भयो । त्यहाँ पनि सम्झाउने बाहेक केहि हुन सकेन । मंगलबार बजार अनुगमनको नेतृत्व गरेका जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा नित्या नन्द घिमिरेले जिल्लाका सबै बजार अनुगमन गरिरहेको बताए । उनले अनुगमनका क्रममा चालु आवमा नभएपनि अघिल्लो आवमा चाहि कार्वाही पनि गरेको भन्दै अब पनि भनेको नमाने पसललाई कार्वाही गर्ने उनको भनाई छ ।
गरिस् भन्दा गरेँ, के भेटिस् भन्दा यो भेटेँ । हिजो त्यस्तै भयो, पोहोर त्यस्तै, परार त्यस्तै । उपभोक्ता अर्थात् नागरिकलाई सबैभन्दा प्रभाव पर्ने, दिनहुँ प्राथमिक आवश्यकताको रूपमा गर्नुपर्ने खरिद बिक्रीको कामलाई प्रभावकारी र नकारात्मक कामलाई बजार अनुगमनको माध्यमबाट नियन्त्रण गरेर जनतालाई राहत दिन सकिँदैन भने बजार अनुगमनको बहाना किन चलाइुरहनु ।
बर्षौँसम्म बजारको खरिदबिक्री कार्यलाई एकरूपता दिन सकिँदैन र उपभोक्ता सधैँ लाचार भएर ठगिइरहनु परेको छ । एउटा मूल्यमा खरिद गरेको सामान दोब्बर मात्र होइन, तेब्बर, चौबर मूल्य मुनाफा लिएर पनि ब्यापारीले बिक्री गरिरहेका हुन्छन् । तर पनि अनुगमनले अनुगमन चाहि गर्नसकेको छैन ।