धरान/ धरानका विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरूमा तोडफोड तथा क्षति पु¥याएको घटनालाई लिएर दलहरूले प्रहरीमा किटानी जाहेरी दिएका छन्।
जेनजीको आवरणमा आएका अराजक समूहहरूले पार्टी कार्यालयहरूमा आक्रमण गरी क्षति पु¥याएको भन्दै विस्तृत विवरण सहित इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जबेगुलाई जाहेरी बुझाइएको हो।
जाहेरीमा पार्टीका झण्डा च्यातिएको, भित्ते लेखन बिगारिएको, ढोका–झ्याल र कार्यालयको संरचनामा क्षति पु¥याइएको विवरण उल्लेख छ। राजनीतिक दलका प्रतिनिधिहरूले यस्ता गतिविधिले शान्तिपूर्ण राजनीतिक वातावरणमा अशान्ति ल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्।डिएसपी जबेगुले जाहेरी दर्ता भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्। उनले भने, “धरानलाई अस्थिर बनाउन खोज्ने कुनै पनि अराजक समूहलाई कानून अनुसार कारबाही गरिनेछ।
”स्थानीयहरूका अनुसार पछिल्लो समय जेनजी समूहको नाम प्रयोग गरेर धरानमा विभिन्न उच्छृंखल गतिविधि भइरहेको छ, जसले आमनागरिकमा त्रास फैलाएको छ। राजनीतिक दलहरूले तत्काल दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्।
नेकपा (एमाले) का धरान उपमहानगरकमिटीका अध्यक्ष हर्कजंग एभेङले जेनजीको नाममा भएको घट्ना अलोकतान्त्रिक अभ्यासमाथिको आक्रमण भएको बताउँदै अविलम्ब दोषीलाई कार्वाहीको माग प्रहरी समक्षमा गरेका छन् । उनले यदि प्रहरीले कार्वाही नगरे पार्टीले नै पक्राउ गरेर प्रहरीको जिम्मा लगाउने र त्यसवाट हुने क्षति आफुहरु जिम्मेवार नहुने बताए ।
त्यसीगरि नेपाली कांग्रेस सभापति श्याम पोख्रेलले शहरलाई अराजकताको बाटोमा धकेल्ने तत्वहरूको तत्काल पहिचान गर्न माग गरेको छन् । माओवादी केन्द्र ले यसलाई राजनीतिक अस्तित्वलाई कमजोर पार्ने षड्यन्त्रको रूपमा व्याख्या गरेको छ।
स्थानीयहरूले पछिल्ला दिनमा जेनजी नामको आवरणमा विभिन्न उच्छृंखल गतिविधि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूको भनाइ छ– “राजनीतिक कार्यालयमाथि आक्रमण हुन थालेपछि सर्वसाधारण पनि त्रसित भएका छन्। कानूनको शासन कायम गर्न तत्काल दोषीलाई नियन्त्रणमा लिनुपर्छ।”
राजनीतिक दलका कार्यालयमाथि भएको आक्रमणले धरानको राजनीतिक वातावरण तंग भएको छ। आगामी नगरसभा र दलगत सहकार्यमा यसले असर पार्ने देखिएको छ। दलहरूले एकताबद्ध भई यस्तो गतिविधि रोक्न दबाब दिनुपर्ने आवश्यकता देखिएको छ।
क्षतिका विवरणः
१) नेकपा (एमाले) धरान– रु.२० लाख बराबर
२) नेपाली काँग्रेस धरान –रु.२१ लाख बराबर
३) नेकपा माओवादी केन्द्र धरान–रु. ५१ लाख बराबर
यस अघि दलका नेता तथा पूर्व जनप्रतिनिधि र जनप्रतिनिधिहरुको करोडौं क्षतिको विवरण सहित किटानी जाहेरी दिईएको छ भने सुपर मार्केट भाटभाटेनीको भने बाँकी रहेको जाहेरीमा उल्लेख गरिएको छ ।
उक्त समुहले एमाले, कांग्रेस र माओवादी पार्टी कार्यालय तोडफोड र आगजनी गरेको थियो भने पुर्वमेयर मनोजकुमार मेन्याङ्बोको होटल कञ्चनजंघा, पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदी, कार्यपालिका सदस्य सृर्जना नेपाल, पुर्वसांसद जयकुमार राई, कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा र कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङको घरमा तोडफोड, लुटपाट र आगजनी गरेको थियो ।
पीडितहरुले विभिन्न भिडियो फुटेज, तस्बिरलगायतको आधारमा पहिचान खुलेकाहरु विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिइसकेका छन् । ती मध्ये केही व्यक्तिहरु पक्राउ परिसकेका छन् भने अन्य फरार छन् ।