फाल्गुनन्द विमानस्थल: तीन महिनादेखि उडान बन्द

  • भदौ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रूपमा गर्न जिल्लावासीले माग गरेका छन् ।

विसं २०७५ जेठ २१ गते तारा एयरको ट्विनअटर जहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रूपमा जहाज उडानको आस गरेका थिए ।

त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन् ।

यस विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन । सुरुआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुई पटक उडान भरेको थियो ।

नगरपालिकाले इलामबाट काठमाडौँ फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलाइन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम–काठमाडौँ उडान गरेको थियो । तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए ।

“पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्नेगरी तारा एयर र नेपाल एयलायन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ”, प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, “अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व व्यहोर्नुपर्ने छैन ।”

नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर एयरलाइन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए । तीन महिनायता सो विमानस्थल सुनसान बनेको छ ।

इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरू लागिपरेको बताए । “नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ”, उनले भने, “तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुन सकिरहेको छैन ।”

तीन सय २८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलको ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग, सुरक्षित तारबारलगायत संरचना अझै अधुरै छन् ।

स्थानीयबाट करिब रु चार करोडसहित अहिलेसम्म विमानस्थलका लागि रु २८ करोड बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए । विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको विमानस्थलको २०७८ साल फागुन १ गते खनालले नै उद्घाटन गरेको थियो ।

-रासस

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved