झापा/ मेचीनगर–१५ का ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी गाउँलाई स्थानीयले ‘मेची पारिको नेपाल’ भन्छन्। मेची नदीले भौगोलिक रूपमा अलग्याएका यी बस्तीका करिब डेढ सय बासिन्दा दैनिकीका अधिकांश आवश्यकताका लागि भारत धाउन बाध्य छन्।
नेपाल सरकारको उपस्थिति भन्नासाथ यहाँ कक्षा–२ सम्म पठनपाठन हुने मेची आधारभूत विद्यालय मात्र देखिन्छ। जहाँ राष्ट्रिय झण्डा फहराइन्छ र गान गुन्जिन्छ, तर पढाइ भने बर्खा लागेपछि ठप्प हुने अवस्था छ। विद्युत् पुगे पनि ट्रान्सफर्मर नहुँदा टुकीकै उज्यालोमा रात बिताउनुपर्ने बाध्यता छ।
स्थानीयवासीले वर्षौँदेखि मेची नदीमा झोलुङ्गे पुल बनाउन माग गर्दै आएका छन्। तर हरेक चुनावमा उम्मेदवारले आश्वासन मात्र दिने गरेको गुनासो छ। गाउँलेहरु भन्छन्, “पुल बने हामीलाई बजार, शिक्षा र उपचारका लागि भारत धाउन नपर्थ्यो, नेपालमै जोडिन सक्थ्यौं।”
हालै प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीहरूको टोली डुङ्गा चढेर गाउँ पुगेपछि मात्रै गाउँलेलाई ‘नेपाल सरकार हाम्रोमा आएको’ अनुभूति भएको थियो। प्रजिअले तत्काल ट्रान्सफर्मरको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् भने पुल निर्माणका लागि सरकारसँग पहल गर्न सुझाव दिएका छन्।
संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ मा झोलुङ्गे पुलको डिपिआर बनाउन पाँच लाख बजेट विनियोजन गरे पनि निर्माण कहिले हुन्छ भन्ने टुङ्गो छैन।
गाउँलेको भनाइमा, “हिउँदमा नदी तरेर नेपालतिर आउन सकिन्छ, तर बर्खामा तीन महिनासम्म संसारै टुट्छ।”
झोलुङ्गे पुल बन्न सके यी गाउँ न केवल भौगोलिक रूपमा, बरु राष्ट्रिय भावना र जीवनस्तरका हिसाबले पनि नेपालसँग मजबुत रूपमा जोडिनेछ।