विराटनगर/ मोरङको रतुवामाई नगरपालिका–४ आमबारी चोकबाट चोरी भएको मोटरसाइकल प्रहरीले झापामा फेला पारेको छ । सो क्रममा चोरीमा संलग्न दुई युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङकी पुष्पमाया खतिवडाको घर कम्पाउण्डमा पार्किङ गरी राखिएको को ३० प ९६७७ नम्बरको मोटरसाइकल साउन ३० गते राति १२ बजे चोरी भएको थियो ।
विशेष सूचनाका आधारमा भदौ २ गते दिउँसो करिब २ बजे भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा झापाको गौरीगन्ज गाउँपालिका–५ का २० वर्षीय रोम भन्ने प्रकाश यादव र विर्तामोड नगरपालिका–१ का २० वर्षीय ओम प्रकाश खडका सवार थिए । उनीहरू मोटरसाइकल नेपाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि मोरङको इलाका प्रहरी कार्यालय सिजुवामा पठाइएको प्रहरीले जनाएको छ ।