धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आज (आइतबार) वडा नं. ११ र १७ का लागि कोका खोलाबाट ल्याइएको नयाँ खानेपानी उद्घाटन गर्नुभएको छ। लामो समयदेखि पानीको समस्या झेलिरहेका धरानवासीका लागि यो अतुलनीय उपलब्धि बनेको छ।
मेयर साम्पाङले रिबन काटेर पानीको औपचारिक उद्घाटन गर्नासाथ, पाइपबाट झरझर पानी झर्दा स्थानीय बासिन्दा, जनप्रतिनिधि र श्रमदाताहरूमा खुशीको माहोल सिर्जना भयो। कार्यक्रममा सहभागीहरूले उत्साहका साथ तालि बजाउँदै यस ऐतिहासिक पललाई सम्मान गरे।
यो परियोजना जनसहभागिता र श्रमदानकै आधारमा सम्पन्न भएको एउटा उदाहरण बनेको छ। एक स्थानीयले भने, “एडीबीले करोडौं ऋण दिएको कुरा गर्छन्, तर हामीले यहाँ श्रमदानबाट कोकाको पानी ल्यायौं, म त छक्क पर्छु।”
उद्घाटन कार्यक्रममा मेयर साम्पाङले धरानको समग्र विकासका लागि नयाँ र महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभयो। उहाँले विकासको नाममा कसैलाई पनि घर–जग्गाबाट हटाइने छैन भनी प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “धरानमा स्विमिङ पुलसहितको सिटी रिक्रिएसन सेन्टर र ज्येष्ठ नागरिकहरूका लागि बस व्यवस्थासहितको सीनियर सिटिजन रिक्रिएसन पार्क बनाउनेछौं।”
उहाँले थप्नुभयो, “ज्येष्ठ नागरिकहरूलाई घरबाट बसमा राखेर पार्कमा घुमाउन सक्ने व्यवस्था मिलाउनेछौं।”
मेयर साम्पाङको श्रमदान अभियान र जनसहभागितामा आधारित विकास मोडेलले खोलानाला ठेक्का नलगाई नगरपालिकाको आम्दानी पनि बढाउन सफल भएको छ। कोकाको खोलाबाट थपिएको पानीको स्रोतले धरान–११ र १७ का बासिन्दालाई ठूलो राहत दिने विश्वास गरिएको छ। यस कार्यक्रमले धरानको समृद्धिका लागि साझा प्रयास र जनशक्तिको महत्व पुनः पुष्टि गरेको छ।