धरान/ साउन महिनाको पहिलो सोमबार, भगवान शिवको प्रिय दिन। धरान–१४ विजयपुरस्थित पवित्र पिण्डेश्वर मन्दिरमा आज बोलबमका भक्तजनको अभूतपूर्व भिड देखिएको छ।
सप्तकोशी नदीको जल बोकेर गेरु वस्त्रधारी भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा लाइन बसेर जल चढाउन आतुर देखिएका थिए। शिवको जयकार, बोलबमका नारा र आस्थाको माहोलले सिङ्गो क्षेत्र भक्तिमय बनेको थियो।
भिडियो:
साउन सुरु हुनु अघि नै कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले विधिवत रुपमा जलाभिषेक गर्दै पिण्डेश्वरमा बोलबमको सुरुवात गरेका थिए। त्यसयता, विशेषगरी आजको सोमबारको दिन, भक्तजनको लहर नरोकीने गरी देखिएको हो।
वृद्ध–वृद्धा, युवा, बालबालिका सबैले मनोकांक्षा पूर्तिको विश्वाससहित सप्तकोशीको जल ल्याई शिवलिङ्गमा चढाएका थिए। कोही वर्षौं देखिका निष्ठावान भक्त थिए भने कोही पहिलो पटक पिण्डेश्वरमा बोलबम गर्न आएका थिए।
पिण्डेश्वर मन्दिरको ऐतिहासिक महत्त्व पौराणिक शास्त्रहरूमै उल्लेखित छ। धार्मिक मान्यताअनुसार, देवता र दानवको समुद्र मन्थनबाट निस्किएको अमृतलाई सुरक्षाका लागि यही क्षेत्रमा ल्याएर शिवलिङ्गको रूपमा स्थापना गरिएको विश्वास गरिन्छ। यहीँ अमृतपिण्डको रूपमा भगवान शंकरको पूजा गरिन्छ।
यस मन्दिरमा सप्तकोशी नदीको जल चढाउने परम्परा २०३९ सालदेखि शुरू भएको हो भने २०४३/४४ सालदेखि संस्थागत रूपमा अघि बढाइएको थियो।

यति ठूलो संख्यामा भक्तजनको आगमन हुने भएकाले व्यवस्थापन पक्ष पनि सक्रिय थियो। लाइन व्यवस्थापनमा स्वयंसेवकहरू, सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी, जनपथ प्रहरी र ट्राफिक प्रहरी खटिएका थिए। धरान–१४ वडाले सञ्चालन गरेको स्वास्थ्य केन्द्र, विभिन्न संघसंस्थाद्वारा प्रदान गरिएको निःशुल्क स्वास्थ्य सेवा, खानेपानी र खाजाको व्यवस्था पनि गरिएको थियो।
यसबाहेक यस वर्षदेखि चोरीका घटनालाई मध्यनजर गर्दै पिण्डेश्वर बाबाधाम समितिले २४ वटा लकरको सुविधा पनि उपलब्ध गराएको छ, जसलाई आवश्यकता अनुसार थप गर्ने जानकारी समितिका अध्यक्ष विकास वनेपालीले दिएका छन्।
पिण्डेश्वर मन्दिरलाई रुद्राक्षरण्य क्षेत्रका रूपमा धर्मग्रन्थहरूमा वर्णन गरिएको पाइन्छ।
यही धार्मिक महत्त्व, प्रचार–प्रसार र आस्थाका कारण भक्तजनको संख्या हरेक वर्ष बढ्दो छ। यसपटक मात्रै १० लाखभन्दा बढी भक्तजनले सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वरमा चढाउने अनुमान गरिएको छ।
आस्थाको यो सागर र धार्मिक पर्यटनको सम्भावनालाई देखेर धरान उपमहानगरपालिकाले पनि पिण्डेश्वर क्षेत्रको धार्मिक प्रवर्द्धनमा विशेष प्राथमिकता दिएको छ।