धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको प्रतिमा धरान–१३-२० स्थित श्रम संस्कृति पार्कमा मंगलबार (आज) एक समारोहबीच अनावरण गरिएको छ।
प्रतिमा अनावरणपछि आयोजित कार्यक्रममा बोल्दै मेयर साम्पाङले प्रतिमा आफ्नो नभई सम्पूर्ण श्रमिकहरुको सम्मानको प्रतिक भएको उल्लेख गरे। “यो हर्क साम्पाङको मात्र होइन, जसले बिरुवा रोप्न सघायो, ढुङ्गा बोक्न सघायो, ती सबैको प्रतिमा हो,” उनले भने।
उनले अफगानिस्तानमा शिक्षण पेसामा कार्यरत रहँदाको आकर्षक जागिर छोडेर नेपाल फर्किएको स्मरण गर्दै भने, “गोरालाई इङ्लिस पढाउने, कम्प्युटर टिचर भएर पनि म यहाँ आएँ, किनभने मलाई यहाँ केही गर्नुछ भन्ने लाग्यो।”
पार्क निर्माणको प्रेरणा र कठिनाइबारे चर्चा गर्दै उनले भने, “यो कुनै बजेट छुट्याएर ठेकेदारले बनाएको पार्क होइन। पसिनाले सिञ्चिएको, थोपा–थोपाबाट बनेको पार्क हो। प्रत्येक ढुङ्गा, बोटबिरुवामा तपाईंहरुको सम्झना छ।”
कार्यक्रममा उनले नेपाली समाजमा श्रमको अवमूल्यन भएको गुनासो गर्दै भने, “काम गर्यो भने ‘हेर त त्यसले काम गरेको’ भनेर हेपिन्छ। तर काम नगर्नेहरूलाई सम्मान गरिन्छ। यस्तै सोचले देश धानि हुदैन।”
कार्यक्रमका क्रममा उनले श्रम संस्कृतिलाई प्रवर्द्धन गर्न आफूले सुरु गरेको यो पहल एउटा ‘नयाँ सोचको सुरुवात’ भएको बताए। “जसको जिउँदो छँदा सम्मान हुँदैन, मरेपछि मात्रै प्रतिमा बनाउने चलन तोड्न पनि यो पहल हो,” साम्पाङले स्पष्ट पारे।
कार्यक्रममा पार्क निर्माणका लागि योगदान गर्ने मूर्तिकार धिराज चाम्लिङ राईलाई सम्मान गरियो। साथै प्रतिमा निर्माणमा आएको ३ लाख ९ हजार २ सय ६० रुपैयाँ खर्चको विवरण सार्वजनिक गरियो। बाकि २५, ७४०रहेको बताएको छ।
उक्त खर्चमध्ये केही स्थानीय, केही विदेशस्थित नेपालीको सहयोगमा संकलन गरिएको बताइएको छ।
बाँकी रकम के गर्ने भन्ने निर्णय भने मेयर साम्पाङको निर्देशनमा गरिने जानकारी दिइयो।
कार्यक्रमको अन्त्यमा साम्पाङले आफ्नै स्वरमा ूदेश सोच्न सकूँ म, देश बोल्न सकूँ मू बोलको देशभक्तिपूर्ण गीत गाएर उपस्थित जनतालाई मन्त्रमुग्ध बनाए। कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो।