धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा चलिरहेको कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा आयोजक जिल्ला सुनसरी र इलामबीच उपाधि भिडन्त हुने भएको छ।
शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई फराकिलो ६९–२५ अंकले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। खेलमा सुनसरीले प्रत्येक क्वाटरमा क्रमशः १६–४, १३–५, १६–५ र २४–१० अंक जोडेको थियो। सुनसरीका सुसन श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए।
उनलाई व्रिज इन्टरनेसनल कन्सलटेन्सीका मार्केटिङ म्यानेजर मनकुमार लिम्बुले ट्रफी प्रदान गरे।
त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा इलामले भोजपुरलाई ६०–४९ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो।
खेलको क्वाटरहरूमा इलाम र भोजपुरले १२–८, १७–९, १५–१२ र १६–२० अंक जोडे। इलामका मनिष तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए। उनलाई सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले ट्रफी प्रदान गरे।
सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुंगा र धनकुटा गरी ८ जिल्लाका टिमले सहभागिता जनाएको प्रतियोगिताका विजेताले नगद रु. २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
उपविजेताले नगद रु. १ लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट खेलाडीलाई धरान मेघा एमभीपी (मोस्ट भ्यालुएबल प्लेयर) उपाधिसहित नगद रु. १० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
असार ५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतवार धरान-१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा हुनेछ।