धरान/ जीवनभर सन्तानका सपना बुन्दै बिताएका धेरै आमाबुबा अहिले आफ्नै छोराछोरीबाट टाढिएर वृद्धाश्रमका चार पर्खालभित्र एक्लोपनमा दिन गनिरहेका छन्।
कोशी प्रदेशका सहरी सहरहरूमा व्यापार, पूर्वाधार र शिक्षाको विकास तीव्र गतिमा भइरहे पनि यिनै सहरभित्र आत्मीयता र पारिवारिक ममताबाट वञ्चित वृद्धवृद्धाको पीडादायी यथार्थ छ।
७० वर्षीया इन्दिरा सुवेदी विगत १४ वर्षदेखि इटहरीस्थित रामजानकी शान्ति वृद्धाश्रममा बस्दै आउनुभएको छ। एक समय थियो, जब उहाँको जीवन सन्तानको साथ, सानो चियापसल र घरायसी खुसीले भरिएको थियो।
तर एकपछि अर्को पारिवारिक दुर्घटनाले उहाँलाई आश्रयविहीन बनायो। “सानै उमेरमा विवाह गरेँ, २० वर्षको उमेरमा छोरा जन्माएँ। तर एघार महिनामै बित्यो। केही समयमै श्रीमान् पनि गुमाएँ,” पीडामा डुबेर उहाँ सुनाउनुहुन्छ।
श्रीमान् बितेपछि चिनजानका आफन्तको सुझावमा आश्रम पुगेकी सुवेदी अहिले आश्रमलाई नै घर मानेर बसिरहनुभएको छ। “यहाँ सुविधा छ, दिन बिताउन सजिलो छ, तर घरजस्तो न्यानोपन भने छैन,” उहाँको गुनासो छ।
विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा बसिरहनुभएकी ८१ वर्षीया सरिता गौतमको जीवनकथा पनि फरक छैन। विगत २८ वर्षदेखि उहाँ आश्रममै हुनुहुन्छ। “सकुन्जेल काम गरेँ, सन्तान हुर्काएँ, पढाएँ, बिहे गराएँ। तर अहिले तिनैले चिनेनन्,” उहाँ भन्छिन्, “अब त आश्रम नै मेरो घर हो।”
त्यस्तै, ८६ वर्षीया पवित्रा सुवेदी विगत २१ वर्षदेखि आश्रममै बस्दै आउनुभएको छ। उहाँका आँखामा अब न स्पष्ट देख्छन्, न छोराको अनुहार चिन्न सक्छन्। “कहिलेकाहीँ छोरा आउँछ। तर अनुहार बुझ्न सक्दिनँ। खानपिन त छ, तर आत्मीयता छैन,” उहाँ भन्छिन्।
इटहरीको रामजानकी शान्ति वृद्धाश्रम २०५६ सालमा स्थापना भएको हो। हाल यहाँ १७ जना वृद्धवृद्धा बस्दै आएका छन्। सञ्चालक सन्तोष ओझाका अनुसार, “वृद्धवृद्धाले जुन माया खोजिरहेका हुन्छन्, त्यो परिवारमा मात्र पाइन्छ। यहाँ सुविधा छ, आत्मीयता छैन।”
विराटनगरमा सञ्चालित विराटेश्वर वृद्धाश्रममा अहिले ६० भन्दा बढी बृद्धबृद्धा छन्। संस्थापक जगत अर्याल भन्छन्, “वृद्धावस्थामा शान्तिपूर्ण जीवन बितोस् भन्ने उद्देश्यले यो आश्रम स्थापना गरिएको हो। तर दिनदिनै वृद्धवृद्धा घरविहीन भइरहेका छन्।”
सामाजिक विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा हाल ५ लाख ५६ हजार ४६४ जना ज्येष्ठ नागरिक छन्। यो कुल जनसंख्याको ११.२२ प्रतिशत हो। उनीहरूको सम्मानित जीवन सुनिश्चित गर्न चालु आर्थिक वर्षमा १ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।
समाजमा ‘वृद्धाश्रम अन्तिम विकल्प’ भन्ने सोच अझै बलियो रहे पनि बुढेसकालमा परिवारको माया र साथ पाउन नसकेका धेरैका लागि अहिले यस्ता आश्रमहरू नै बाँकी छन् — जहाँ जति नै सुविधा भए पनि सन्तानको माया भने अनमोल रहन्छ।