२०७२ साल बैशाख १२ गते, शनिबार। समय थियो ११:५६। धरानको दन्तकाली एफ.एम.को चौथो तलामा रहेको स्टुडियोमा म १२ बजेको समाचार प्रसारणको तयारी गर्दै थिएँ।
स्क्रिप्ट तयार थियो, स्वरको ताल मिलाउँदै थिएँ।
प्रसारण सुरु हुन चार मिनेट मात्रै बाँकी थियो—तर जीवनले चाहिँ अर्को प्रसारण सुरु गर्न लागेको रहेछ, जुन न स्क्रिप्टअनुसार थियो, न कुनै तालमा।
अचानक भवन हल्लिन थाल्यो। सुरुमा सामान्य लाग्यो—तर त्यो केही सेकेन्डमै बर्बर आवाजमा परिणत भयो। स्टुडियोका पर्खाल, कुर्सी, उपकरण सबै हल्लिए।
मेरो शरीरभन्दा पहिले मन लर्बरियो। खुट्टाले जमिन पक्रन सकेनन्, माइक समातिएको हात झुल्न थाल्यो।
करिब ४० सेकेन्डसम्म त्यो कम्पन चलिरह्यो। तर त्यो ४० सेकेन्ड—मानौं जीवनकै सबैभन्दा लामो, भयावह र अनिश्चित क्षण थियो।
समाचार, समय, ताल—सबै भुलिए। बाँकी थियो त केवल बाँच्नुपर्ने संघर्ष।
कसरी हो कसरी, लड्दै–पड्दै, चौथो तलाबाट झरेँ। खुट्टा लर्बराउँदै, पर्खाल समाउँदै बाहिर निस्किएँ।
खुला आकाशमुनि पुगेपछि पनि मुटुको कम्पन कम भएको थिएन। स्टुडियो रहेको भवनलाई फर्केर हेर्दा अझै पनि थरथर काँपिरहेको थियो।
चारैतिर कोलाहल थियो। मानिसहरू चिच्याइरहेका थिए, दौडिरहेका थिए, कोही रोइरहेका थिए।
एम्बुलेन्स, प्रहरीका भ्यानहरू आपतकालीन साइरनसहित दौडिरहेका थिए। वातावरणमा त्रास मात्रै थिएन, निराशा र अविश्वास मिसिएको थियो।
म बाँचेँ। तर त्यही क्षण दिमाग एकाएक शून्य भयो। सोच्नै सकिनँ। फेरि मनको गहिराइबाट एक आवाज आयो—"घर तिर? आमा, बुबा, दाजुभाइ, परिवारका अन्य सदस्य, आफन्तजन, साथीसंगी—सबै ठीक छन् कि?" तर मोबाइल चल्दैनथ्यो, सम्पर्क हुन सक्दैनथ्यो। एक–एकजनाको अनुहार आँखामा आइरहन्थ्यो।
त्यो दिन म समाचार दिन सकिनँ—किनभने त्यत्रो बिनाशकारी भुकम्पले हल्लाएर होस हवास नै उडेको थियो।
यसरी त्यो ४० सेकेन्डको कम्पनले जीवनभर भयावह र अबिस्मरणीय क्षण बनाएर गयो।
आज पनि, बैशाख १२ आउँदा, मुटु भित्र कतै केही झस्किन्छ—त्यो कहालीलाग्दो दिनको सम्झनाले।