सुनसरी/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजित ‘राष्ट्र शक्ति शिखर सम्मेलन’ मा नेपालकी चर्चित गायिका मिलन नेवारलाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ द्वारा सम्मानित गरिएको छ।
नेपाल र भारतको संगीत क्षेत्रमा पुर्याएको उनको योगदानलाई कदर गर्दै सम्पर्क क्रान्ति परिवार द्वारा आयोजित भव्य कार्यक्रममा यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
सम्मानप्रति गायिका मिलन नेवारको प्रतिक्रिया
सम्मान ग्रहण गर्दै मिलन नेवारले यो उपलब्धिलाई सम्पूर्ण नेपाल र नेपाली संगीत क्षेत्रकै सम्मान भएको बताइन्। उनले भनिन्,
"यो सम्मान मेरो लागि मात्र होइन, नेपाली संगीतको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अवसर हो। यसले नेपाली महिलाहरूलाई पनि हौसला प्रदान गर्नेछ।"
उनले थप्दै भनिन्,'संगीत मेरो जीवन हो, र यो सम्मानले अझै जिम्मेवारी बढाएको छ। म नेपाली संगीतलाई विश्वभर चिनाउन निरन्तर प्रयासरत रहनेछु।
सम्मेलनमा महिला सशक्तिकरण र प्रेरणादायी अनुभवहरू
समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरूलाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’, ‘राष्ट्र तेजस्विनी सम्मान’, ‘राष्ट्र यशस्विनी सम्मान’ जस्ता विशेष सम्मानहरू प्रदान गरियो। साथै, महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, सुरक्षा, र आत्मनिर्भरता जस्ता विषयमा गहन छलफल समेत भएको थियो।
भारतका विभिन्न राज्यहरूबाट आएका प्रतिभाशाली महिलाहरूले आफ्नो सफलताका प्रेरणादायी अनुभवहरू साझा गरे। साथै, सांस्कृतिक प्रस्तुतिहरूले समारोहलाई थप उल्लासमय बनाएको थियो।
मिलन नेवार : नेपाली संगीतको उज्यालो तारा
मिलन नेवार हाल नेपाली संगीत क्षेत्रमा सर्वाधिक लोकप्रिय गायिकामध्ये एक हुन्। उनले नेपालीसहित १० भन्दा बढी भाषामा सयौं गीतहरूमा आवाज दिएकी छिन्।
उनको गायकीले नेपाल र भारतका दर्शकमाझ गहिरो छाप छोडेको छ। उनले दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगीत अवार्डहरू प्राप्त गरिसकेकी छिन् भने उनका धेरै गीतहरू सुपरहिट रहेका छन्।
नेपालकी मिलन नेवारलाई अन्तर्राष्ट्रिय मञ्चमा यस्तो प्रतिष्ठित सम्मान प्रदान गरिनु नेपालका लागि गौरवको विषय हो। उनले नेपाली संगीतलाई अझ विश्वव्यापी बनाउन निरन्तर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।