इलाम/ मेची राजमार्गको राजदुवालीका लागि वैकल्पिक सडक धेरै छन् तर कतै बजेट अभावले मर्मत रोकिएका छन्, कतै लागेको ठेक्काको काम ज्यादै सुस्त गतिमा छ । ठुला सवारी साधनसमेत चल्न सक्ने केचना–कञ्चनजङ्घा मार्गमा कालोपत्रेसम्मका ठेक्का लागेका छन् ।
तर, कामको गति कछुवा गतिमा छ । यतिसम्म कि, नेता र जनप्रतिनिधि नै प्रत्यक्ष संलग्न भएका निर्माण कम्पनीले जिम्मा लिएको ठेक्काको म्याद पटक–पटक सकिँदा पनि ४० प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन ।
वैकल्पिक भनिएको सिमल गोलाई–जोगमाई–तिल्केनी सडकमा बर्खामा गाडी चल्ने अवस्था छैन । निर्माणाधीन केचना–कञ्चनजङ्घा मार्गको काम ज्यादै सुस्त गतिमा भइरहँदा बर्खामा यो सडक पनि विकल्प बन्ने अवस्था छैन ।
त्यति मात्र होइन, यही मार्गमा पर्ने पुवा खोलामा पुल हाल्नुपर्नेछ तर पुलका लागि अहिलेसम्म कुनै बजेट विनियोजित छैन ।
राजदुवाली सडक खण्ड जोखिम बनेर यातायात सम्पर्क टुट्ने अवस्था आएपछि इलामका नागरिक खबरदारीका साथ सडकमा उत्रिएका छन् ।
माईखोलाको राजदुवाली छेउको सडक भत्किएको खण्ड मर्मत वा वैकल्पिक सडक तुरुन्त व्यवस्था गर्नुपर्ने भन्दै नागरिक सडकमा उत्रिएका छन् । नागरिकले स्वतःस्फूर्त रूपमा शान्तिपूर्ण जनदबाब सिर्जना गर्न इलामको चोक बजारमा कोणसभा गरी जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका हुन ।
जिल्ला स्थित सरोकारवाला निकायमा पुगेर राजमार्ग मर्मत वा वैकल्पिक मार्गको काम तुरुन्त सम्पन्न गर्न माग राखेका थिए ।
इलाम उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष ईश्वर चिपालु, होटेल व्यवसायी प्रकाश चापागाईँ, व्यवसायी केशव खनालले जनदबाबको लागि अगुवाइ गरेका हुन । सडकमा मात्रै होइन इलामे नागरिकले सामाजिक सञ्जालमार्फत जनदबाब सिर्जना गर्न आग्रह गरिरहेका छन् ।
इलाम, पाँचथर र ताप्लेजुङसम्म आउ–जाउ गर्ने मेची राजमार्ग कुनै पनि हालतमा बन्द हुन नदिन खबरदारी गर्नुपरेको व्यवसायी चापागाईँले बताए । ‘अब पनि चुप लागेर बस्ने हो भने पानी पर्ने बित्तिकै इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दा दैनिक उपभोग्य सामग्री अभावले धर् धरी रुनुपर्नेछ अवस्था आउन नदिन खबरदारी गर्नुपरेको बताए ।
इलामका अगुवा गोपाल नेपाल सामाजिक सञ्जालमै नेपाल सरकारका यातायात मन्त्रीलाई सम्बोधन गरी लेख्छन् र इलाम, पाँचथर तथा ताप्लेजुङबाट निर्वाचित सांसदलाई समेत बोधार्थ दिन्छन्– ‘बर्खा सुरु हुनासाथ मेची राजमार्गको अवस्था के होला ? बाटो बन्द भएपछि हतार–हतार के–के न गरेजस्तो गरेर सामाजिक सञ्जाल भर्नुभन्दा बेलैमा लागौँ । यसलाई लैनो गाई नबनाऔँ ।’
इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले राजदुवालीको मेची राजमार्ग मर्मत र वैकल्पिक सडकका लागि सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निरन्तर सम्पर्क भइरहेको बताएका छन् ।
उनले भौतिक पूर्वाधार मन्त्री, सडक विभागका महानिर्देशक र सम्बन्धित निकायसँग आफूले लिखित, मौखिक र सबै हिसाबले आफूले ध्यानाकर्षण गरिरहेको जनाएका छन् । राजदुवालीको मेची राजमार्ग निकै जोखिमपूर्ण रहेको र आउँदो बर्खामा जसरी पनि सवारी अवरुद्ध हुन नदिन सबैसँग समन्वयसमेत गर्ने उनको भनाई छ ।
इलाम क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले मेची राजमार्गको राजदुवाली–गोलाखर्क भञ्ज्याङ खण्ड मर्मतका लागि आफू निरन्तर सम्बन्धित मन्त्रालय र विभागमा धाइरहेको बताएका छन् ।
नेम्बाङले यसको विकल्पका रूपमा निर्माणाधीन मेची कोरिडोर (केचना–कञ्चनजङ्घा) सडकको बेलासे खण्डको काम समयमै सक्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको पनि जनाएका छन् ।
इलाम जिल्ला समन्वय समितिअन्तर्गतको पूर्वाधार विकास समितिले मेची राजमार्गको राजदुवाली खण्डको वास्तविक अवस्थाबारे जानकारी लिने निर्णय गरेको छ ।
इलामसहित पाँचथर र ताप्लेजुङ सम्मको सडकको रूपमा रहेको राजमार्गमा आउँदो बर्खामा गाडी चल्ने सम्भावना नभएपछि जिससले चासो गरेको हो । उद्योगी–व्यवसायीले मेची राजमार्गको इलाम राजदुवाली खण्ड तत्काल मर्मत गर्न वा विकल्प खोज्न माग गरेका छन् ।
गत असोजमा पहिरो जाँदा राजदुवाली खण्डको करिब दुई सय मिटर मेची राजमार्ग क्षतविक्षत छ ।
दुई साता जति अवरुद्ध भए पनि दिनरात मर्मत गरेर एकतर्फी गाडी चल्ने त बनाइएको छ तर अब झ्यार्र पानी पर्ने बित्तिकै यो सडक अवरुद्ध हुने निश्चितझैँ छ ।
यसको विकल्पमा कुनै पनि भरपर्दो सडक नहुँदा आउँदो बर्खामा इलाम बजार यातायात सम्पर्कविहीन हुने जोखिम छ । बर्खा लाग्न आँटिसक्दा मेची राजमार्ग मर्मतका लागि एक रुपैयाँ पनि विनियोजन भएको छैन ।