हिले/ धनकुटाको साँगुरीगढी गाउँपालिका–८, लुखाका आशिष राई शारीरिक रूपमा अशक्त छन् । २२ वर्षीय राईको बोली आउँदैन, हातखुट्टा चल्दैनन् । उनको दैनिकी ओछ्यानमै लडेर बित्ने गरेको छ ।
आजसम्म राईले औपचारिक शिक्षा लिने अवसर पाएको छैन तर पनि राईसँग अद्भूत क्षमता छ, अनौठो कला छ । राई सुन्दर चित्र बनाउँछन् ।
चित्र कोर्नु आफैँमा सामान्य कर्म होइन, यसका लागि विशेष कला चाहिन्छ । उनी मुखले सिसाकलम च्याप्नछन्, अनि त्यसैले आफ्ना मनका भावना चित्रमार्फत कापीमा उतार्नछन् । उनले बनाएका चित्र सुन्दर र आकर्षक हुन्छन् ।
उनी आफूले देखेका हिमाल, पहाड, तराई, जनावर, फूलहरू चित्रका रूपमा प्रस्तुत गरेका छन् । त्यसो त उनले यस्तो चित्र बनाउन थालेको करिब एक वर्ष मात्रै भएको छ । उनले आफ्नी बहिनीले बनाएको देखेर चित्र बनाउन सुरु गरेको आशिषकी आमा लक्ष्मी राई बताउँछिन् ।
आमा लक्ष्मीले भनिन्, “बहिनीले चित्र बनाएको देखेपछि आफैँले कुकुरको चित्र बनायो । सुरुमा त विश्वास लागेन तर पछि युट्युबमा हेर्दै बनाएको रहेछ । भगवान्ले छोरालाई हातखुट्टा नदिए पनि दिमाग दिएको रहेछ, यसैमा खुसी छौँ ।”
करिब तीन वर्षको उमेरदेखि उनीमा यो समस्या देखा परेको थियो । करिब पाँच वर्षको उमेरसम्म घिस्रिएर हिँडे पनि अहिले भने त्यो पनि गर्न सक्दैनन् । विभिन्न स्थानमा लगेर उपचार गराए पनि निको नभएको परिवारले जनाएको छ ।
दुईतले घरको माथिल्लो तलामा आशिषको बसोबास छ । उनको कोठाभन्दा बाहिर निस्किन सक्ने अवस्था छैन । खाना खान तथा दिसापिसाब गर्न पनि अरूको सहयोग चाहिन्छ । शारीरिक रूपमा अशक्त भएका व्यक्तिमा पनि विशेष क्षमता रहेको हुन्छ ।
उनीहरूलाई अवसर र प्रेरणाको खाँचो रहेको हुन्छ भन्ने कुरा राईले प्रमाणित गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउँछन् ।-रासस