रङ्गशाला निर्माणमा शिवसताक्षीको लोभलाग्दो लगानी

  • मंसिर १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा । खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा झापा परिचित छ । फुटबल, क्रिक्रेट, भलिबल, कराते, बक्सिङ, जुडो लगायतका खेलमा झापाका खेलाडीको राष्ट्रियस्तरमै दबदबा छ ।

क्रिक्रेटकी रुबिना क्षेत्री हुन् या फुटबलका हरि खड्का, झापाले खेलकुदको माध्यमबाट मुलुकको नाम चम्काउन दिएको योगदान अतुलनीय छ । तर जुन स्तरमा खेलाडीले सफलता पाउँदै आएका छन्, त्यसको तुलनामा झापामा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा भने उल्लेख्य लगानी हुन सकिरहेको छैन ।

खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणको टड्कारो आवश्यकता पूरा गर्न शिवसताक्षी नगरपालिकाले पछिल्लो समय स्थानीय रङ्गशाला निर्माणमा देखाएको तदारुकता भने लोभलाग्दो छ ।

मध्य झापामा रहेको शिवसताक्षी नगरपालिकाले वडा नं ११ दूधेबजार नजिक २५ हजार दर्शक अट्ने आधुनिक सुविधासम्पन्न रङ्गशालाको निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । नगरपालिकाले उक्त रङ्गशाला निर्माणमा रु दुई करोडभन्दा बढी बजेट लगानी गरिसकेको छ ।

भद्रपुरमा रहेको मेची रङ्गशाला आधा शतक पुरानो जिल्लाको पहिलो रङ्गशाला हो । इतिहास निर्माण गरिसकेको उक्त रङ्गशालालाई पनि प्यारापिट, बत्ती लगायतको पूर्ण सुविधायुक्त अझै बनाउन सकिएको छैन।

जिल्लामा समुदायस्तरमा निर्मित अर्को रङ्गशाला विर्तामोडमा रहेको छ । डोमालाल रङ्गशाला नामले परिचित यो रङ्गशाला स्थापनाकालदेखि नै जग्गा समस्यामा अल्झिएको कारण भौतिक पूर्वाधारमा लगानीको वातावरण बन्न सकेको छैन ।

मेचीनगरमा खेलमैदानहरु भएता पनि तिनलाई रङ्गशालाको स्वरुप दिने प्रयास थालिएकै छैन । दमक र कमल पालिकामा दुईवटा प्रस्तावित रङ्गशाला छन् । अन्तर्राष्ट्रियस्तरको बनाउने घोषणा गरिएका दुवै रङ्गशाला राजनीतिक मतभेदका कारणले नाम विवादमा अल्मलिएका छन् ।

शिवसताक्षी नगरपालिकाको गठन भएपछि जननिर्वाचित पहिलो जनप्रतिनिधिकालमा नै रङ्गशाला निर्माणको आधारशीला खडा गरिएको थियो । तत्कालीन प्रदेश नं १ सरकारको समेत सहयोग जुटाएर नगरस्तरीय रङ्गशाला निर्माणका लागि तत्कालीन नगर प्रमुख चन्द्रकुमार शेर्माले मिहेनत गरेका थिए ।

उनको पालामा रङ्गशालाका लागि रतुवामाई वृक्षारोपण आयोजनासँग जोडिएको आठ बिगाहा जग्गामा रङ्गशालाका लागि घेराबारा बनाउने लगायतका परियोजनासम्बन्धी पूर्वाधारको काम अघि बढाइयो । त्यसबेला प्रदेश र स्थानीय पालिकाले रु एक करोड बजेट रङ्गशालामा विनियोजन गरेका थिए ।

नगरमा दोस्रो कार्यकालका लागि नगरप्रमुख मेगाहाङ थोप्राको नेतृत्वमा जनप्रतिनिधि निर्वाचित भएपछि अधुरो रङ्गशालालाई पूर्णता प्रदान गर्नका लागि प्राथमिकताका साथ काम अघि बढाइएको छ ।

गत आर्थिक वर्ष २०८०र८१ मा मैदान, चेन्जिङ रुम र मञ्च निर्माणमा नगरपालिकाले रु एक करोड १० लाख बजेट विनियोजन गरेको थियो । यसपालि आव २०८१र८२ का लागि पालिकाले रङ्गशालाको अधुरा काम सम्पन्न गर्न रु ५० लाख बजेट छुट्याएको

नगर प्रमुख मेगाहाङ थोप्राले बताए । ‘जिल्लामा रङ्गशालाको आवश्यकता महसुस भइरहेको अवस्थामा हामीले सबैभन्दा ठूलो र सुविधासम्पन्न रङ्गशाला निर्माणमा बजेट केन्द्रित गरेका हौँ’, उनले भने, ‘खेलकुदप्रेमीको भावना र आवश्यकतालाई ध्यानमा दिएर थालिएको सपना जस्तै रङ्गशालाको निर्माण अब सम्पन्न हुने चरणमा पुगिसकेको छ ।’

रङ्गशालाको वरिपरि पक्की घेराबेरा पहिल्यै निर्माण भइसकेको थियो । पानी निकासका लागि ड्रेन पनि बनिसकेको छ ।एकातर्फको प्यारापिट निर्माण पहिल्यै भइसकेको थियो भने अर्कातिरको प्यारापिट निर्माण चालू आवमै सम्पन्न भइसक्ने नगरपालिकाले जनाएको छ ।

चालु आवमै विद्युत्, खानेपानी, शौचालय लगायतका अरू पूर्वाधार निर्माण हुनेगरी पर्याप्त बजेट विनियोजन भएको छ ।खेल मैदानमा बाहिरबाट ल्याइएको मुलायम झार हुर्काइएको छ । यसै वर्ष मञ्च र प्यारापिट बनिसकेपछि रङ्गशालामा पहिलो गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गरिने उनले बताए । शिवसताक्षी नगरपालिकाले रङ्गशाला निर्माणमा गरेको लगानीबाट स्थानीय खेलप्रेमी हर्षित छन् ।

शिवसताक्षीले नगरको गौरवको आयोजनाका रुपमा रङ्गशालामा गरिरहेको लगानी अरू पालिकाका लागि अनुकरणीय रहेको स्थानीय सरोज भट्टराई बताउँछन् ।‘धार्मिक र पर्यटकीय स्थलका कारण परिचित यस नगरलाई अब खेल पर्यटनका दृष्टिले चिनाउन सकिने अवस्था निर्माण हुँदै गएकामा नगरवासी खुसी छन्’, भट्टराई भन्छन्, ‘सडकमा गिट्टी, बालुवा भर्नु र गाउँमा बिजुलीका खम्बा पुर्‍याउनु मात्र विकास होइन ।

खेलकुदमा भएको लगानीले नगरका युवाशक्तिलाई मानसिक र शारीरिक रुपमा स्वस्थ, अनुशासित र लगनशील बनाउन अवश्य नै सहयोग पुग्नेछ ।’ रासस

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved