बराहक्षेत्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्री देबेन्द्र मल्लको विदाईको यो क्षणले सम्पूर्ण नगरवासीहरू, विशेष गरी विद्यार्थी, शिक्षक, र शिक्षा क्षेत्रसँग जोडिएका सबैलाई भावुक बनाएको छ।
श्री मल्ल मात्र एक प्रशासनिक प्रमुख नभई, हरेक बालबालिकाको ढुकढुकी बन्न सफल हुनु भएको थियो। उहाँले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभाको खोजी गरी त्यसलाई जीवन उपयोगी शिक्षामा परिणत गर्ने अद्वितीय क्षमता प्रदर्शन गर्नुभयो।
श्री मल्लसरको कार्यशैलीमा एउटा महत्वपूर्ण पक्ष थियो—शिक्षकहरूको समस्यालाई आफ्नै व्यक्तिगत समस्या झैं नजिकबाट बुझ्ने र तिनको समाधान गर्न कुनै कसर बाँकी नराख्ने। उहाँले विद्यालयहरूको भौतिक अवस्थालाई नजिकबाट नियालेर आवश्यक सुधार गर्न सधैं तत्पर रहनुभयो । विद्यालयमा के चाहिन्छ, के छैन, त्यो सुनिश्चित गर्न र त्यसलाई तत्काल सम्बोधन गर्न उहाँको नेतृत्व अति नै प्रभावकारी थियो ।
उहाँको व्यक्तित्वमा रहेको सरलता र स्पष्टता अर्को महत्त्वपूर्ण गुण थियो । उहाँ हँसिला व्यक्ति हुनुहुन्थ्यो, जसले गर्दा कठिन परिस्थितिहरूमा पनि उहाँको बोलीमा सदैव मुस्कान झल्किन्थ्यो।
उहाँ गाली गर्दा पनि हाँस्दै गाली गर्न सक्नुहुन्थ्यो, जसले संवादलाई सहज र मैत्रीपूर्ण बनाउँथ्यो । यस्तो स्वभावले उहाँलाई नजिकबाट चिनेका सबैका लागि प्रेरणाको स्रोत बनाएको थियो ।
श्री मल्ल सर प्रविधि(प्रेमी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले शिक्षामा प्रविधिको महत्त्वलाई समयमै बुझ्नुभयो र नगरपालिकाका शिक्षकहरूलाई प्रविधिमा अब्बल बनाउन अहोरात्र लागिरहनुभयो। उहाँको यो दृष्टिकोणले बराहक्षेत्रमा शिक्षण विधिलाई आधुनिक र प्रभावकारी बनाएको छ ।
उहाँले प्रविधि मार्फत शिक्षा प्रणालीलाई आधुनिकिकरण गरी, शिक्षक र विद्यार्थी दुवैलाई नयाँ क्षितिजमा पुर्याउन महत्वपूर्ण योगदान दिनुभयो।
श्री मल्लको अर्को महत्वपूर्ण योगदान विद्यालयमा योगाको अभ्यासलाई प्रोत्साहन गर्नु थियो। उहाँले विद्यालयहरूमा योग अभ्यासलाई प्राथमिकता दिनुभयो, जसले गर्दा विद्यार्थीहरूको शारीरिक, मानसिक र भावनात्मक विकासलाई समग्र रूपमा टेवा पुग्यो। उहाँको यो पहलले विद्यार्थीहरूमा अनुशासन, ध्यान, र शारीरिक सुदृढतालाई प्रोत्साहित गर्यो।
श्री मल्लसरले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लागुऔषध दुरुपयोगको खतराबाट बचाउन "FAN क्लब" र "स्काउट" समेत गठन गरी चेतनाको अभिवृद्धि गर्न ठूलो भूमिका निर्वाह गर्नुभयो ।
हरेक विद्यालयमा लागुऔषध विरुद्ध अभियान सञ्चालन गर्दै, उहाँले बालबालिकालाई यस खतराबाट टाढा राख्ने दृढ संकल्प गर्नुभयो । नगरपालिकालाई स्वस्थ्य र सुखी बनाउन उहाँले अभियन्ताहरूसँग हातेमालो गर्दै विद्यालय र समुदायमा जनचेतना फैलाउने कार्यमा अग्रणी भूमिका निभाउनुभयो।
श्री मल्लसरको अर्को उत्कृष्ट पहल भनेको उपचारात्मक शिक्षण सिकाई कक्षाू थियो। उहाँले पढाइमा पछाडि परेका विद्यार्थीहरूको शैक्षिक स्तरलाई सुधार्नका लागि विशेष कक्षाहरूको व्यवस्था गर्नुभयो। यी कक्षाहरूका लागि चाहिने बजेटको व्यवस्थापन गर्न पनि उहाँले आफ्नै पहलमा बजेटको व्यवस्था गर्नुभयो, जसले कमजोर विद्यार्थीहरूको स्तर उन्नतिमा उल्लेखनीय सुधार गर्यो।
बराहक्षेत्रका हरेक विद्यालयहरुमा अक्षय कोषको स्थापनामा उहाँको दृष्टिकोण विशेष प्रशंसनीय छ । विद्यालयहरूमा विविध खर्च व्यवस्थापन गर्न अक्षय कोषको स्थापना गराई, त्यसबाट प्राप्त ब्याजलाई विद्यालय सञ्चालन र अन्य आवश्यकताहरू पूरा गर्न प्रयोग गर्न उहाँले प्रोत्साहन गर्नुभयो ।
सो कोष स्थापना गर्नुहुने विद्यालयहरुलाई व्यक्तिगत तर्फबाट प्रोत्साहन स्वरुप केहि रकम समेत प्रदान गर्नु भएको थियो । यस कदमले विद्यालयहरूको आर्थिक व्यवस्थापनलाई दीर्घकालसम्म सुदृढ बनाउने छ ।
श्री मल्लसरको विदाईसँगै बराहक्षेत्र नगरपालिकाले एक असल नेतृत्व, समर्पित शिक्षक, र शिक्षाप्रति अद्वितीय दृष्टिकोण राख्ने व्यक्तित्वलाई बिदा गर्दैछ। उहाँले देखाएको मार्गदर्शन, कार्यशैली र निष्ठा सधैं नगरवासीहरूका लागि प्रेरणा बन्नेछ। श्री मल्लको योगदान र शिक्षा क्षेत्रमा उहाँले राखेको प्रतिबद्धता सदैव स्मरणीय रहनेछ ।
(शिक्षा, युवा तथा खेलकुद शाखा, बराहक्षेत्र नगरपालिका, सुनसरीका प्रमुख श्री देबेन्द्र मल्ल ज्युको विदाईमा समर्पित)