इटहरी/ इटहरी उपमहानगरपालिकाले नगर बसको सेजा बुधबारदेखि शुरु गर्ने भएको छ ।
६ करोड ३६ लाखमा खरिद भएका ४ वटा विद्युतीय बस मार्फत स्थानीय नागरिकको यात्रालाई सहज बनाइने मेयर हेमकर्ण पौडेलले बताएका छन् ।
विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो र जनताको सेवामा केन्द्रीय हुने उनको भनाइ छ ।
रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलका अनुसार नगर बसको भाडा २० रुपैयाँ तोकिएको छ । असोज १ गते विश्वकर्मा पूजाको सकेपछि बुधवारबाट दुई सिफ्टमा बस सञ्चालन हुने उनको भनाइ छ ।
पहिलो चरणमा ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन गर्ने पोखरेलले बताए ।रुटको बारेमा जानकारी दिँदै उनले मुख्यतः धरान–विराटनगर सडकमा तरहरादेखि खनारको अरिहन्त उद्योगसम्म बस सञ्चालन हुने बताएका छन् ।
वडा नम्बर ६ का अध्यक्ष समेत रहेका पोखरेलका अनुसार पूर्व–पश्चिम राजमार्गमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक (बिजुली अफिस) सम्म र विराटनगर लाइनको साथी पेट्रोल पम्प हुँदै ११ नम्बर वडाको खेटीपुल र नहरको बाटो हुँदै इटहरी चोक आउने अर्को रुट तय भएको छ ।
इटहरी चोकबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै पुनः मुख्य चोकमा बस आउने भएको छ ।
अर्कातर्फ इटहरी चोक बाट तालतलैया हुँदै त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै राजमार्गबाट मुख्यचोक ल्याउने गरी रुट तय भएको हो ।
त्यसैगरि उपमहानगरपालिका बाट पश्चिम लाइन लबीपुर हुँदै १५ नम्बर वडाको चाँदवेला सिमानाबाट १७ नम्बरको पार्टी कार्यालय र कान्छी चोक सम्म बस सञ्चालन हुने भएको छ ।