काठमाडौं।यो वर्षको हरितालिका तीज भदौ २१ गते अर्थात शुक्रबार परेको छ । विहीबार दर खाने दिन हो । अधिकांश नेपाली हिन्दू महिला पतिको दीर्घायुका लागि९अविवाहित सुयोग्य वरका लागि निराहार व्रत बस्ने गर्छन्।
व्रत बस्ने परम्परा हिन्दूबाहेक बौद्ध, इस्लामलगायत धर्ममा पनि छ। तर यसको स्वरूप भने धर्मअनुसार फरक हुन्छ। तर यसरी व्रत निराहार व्रत बस्दा शरीरलाई फाइदा पनि पुग्ने पोषणविद् आरेम कार्की बताउँछन्।
कार्की भन्छन्, “व्रत बस्ने धेरै तरिकाहरू छन्। कोही व्यक्ति पानि खाएर व्रत बस्छन्, कोही पानीसमेत नखाई निर्जला व्रत बस्छन भने कोही फलफूललगायत शाकाहारी खाना खाएर पनि व्रत बस्ने गर्छन्। स्वास्थ्यको हिसाबले निर्जला व्रत फाइदाजनक हुन्छ।”
तर पछिल्लो समय खालि पेट बस्नु हुँदैन भन्ने धारणा विकसित हुँदै गएको छ। जसका कारण व्रत बस्ने चलनमा केही भिन्नता आएको कार्की बताउँछन्। “एकै परिवारका आमा र छोरीको व्रत बस्ने तरिका अलग हुन सक्छ। आमाहरूले परम्परागत धारणालाई अनुशरण गरी निर्जला व्रत बस्छन् भने छोरीहरूले फलफूल, पुवालगायत शाकाहारी खानेकुरा खाएर व्रत बस्ने गरेको पनि पाइन्छ। जसका कारण परम्परागत चलन बिग्रिँदै गएको छ।”हाल तीजमा धेरैजसो महिला शाकाहारी खाएर बस्ने गर्छन्। तर निर्जला व्रत बस्नका लागि व्रत बस्ने पनि बानी हुनुपर्छ। व्रत बस्ने बानी नभएका महिलाले निराहार व्रत बस्न निकै कठिन हुन्छ। व्रत बस्नु राम्रो भए पनि बानी नभएका महिलाका लागि भने कष्टदायी साबित हुनसक्ने कार्कीले बताए।
धेरैजसो नेपाली महिला एक पटक ९तीज०मा मात्र व्रत बस्ने गर्छन्। वर्षमा एक पटक मात्र व्रत बस्ने महिलाले व्रत बसेको दुइ(चार दिन स्वास्थ्यमा समस्या भएको महसुस गर्न सक्छन्। तर यसले भविष्यमा भने कुनै असर नपार्ने कार्कीको भनाइ छ।
त्यस्तै मधुमेह, रक्तचाप, ग्यासटाइटिस, थाइरोइड, मिर्गौला र अन्य कुनै मुटुसम्बन्धी समस्या भएर औषधि खाइरहेका महिलाका लागि व्रत हानिकारक साबित हुन सक्छ। त्यसैले यस्ता महिला व्रत नबस्नु नै उपयुक्त हुन्छ। ग्यासटाइटिस भएका महिला निर्जला व्रत बसे स्वास्थ्यमा समस्या आउन सक्छ। मधुमेह, थाइराइड भएका बिरामीलाई पनि व्रत बस्दा एक दिन समस्या हुन सक्छ। तर जीवनभर समस्या ल्याउँछ भन्ने नहुने कार्कीले बताए।
व्रत बस्दा आउनसक्ने जटिलता हुन नदिन अघिल्लो दिनमा नै यसको योजना बनाउन सकिन्छ। अघिल्लो दिनमा दैनिकभन्दा अलिक बढी पानी र खानेकुरा खाएर व्रत बस्ने दिनलाई ‘रिजर्भ’ राख्न सकिन्छ। त्यसैले हाम्रो समाजमा तीजको ब्रत बस्ने अघिल्लो रातमा दर खाने चलन चलेको हो।
तीजमा पानी नखाई व्रत बसी मन्दिरमा लाइन लागेर पूजा गर्न जाँदा धेरै महिलामा ‘डिहाइडेसन’ हुन सक्छ। शरीरमा भएको मिनिरलहरू युरिन र पसिनाबाट उडेर जाने भएकाले रिंगटा लाग्ने र बेहोस हुने समस्या आउन सक्छ। व्रत बसेको महिलामा यस्तो समस्या हुन नदिन अघिल्लो दिनमा रिजर्भ हुने गरी जीवनजल र नुनपानी खानु उपयुक्त हुन्छ।