धरान / आधुनिक शहरीकरणसंगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै गएका छन् । अधुनिक शहरीकरणको नाममा बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै महगोमा जग्गा खरिद विक्री हुन थालेपछि खेतियोग्य जमिन घडेरीमा परिणत हुन थालेका हुन् ।
साविकको पाँचकन्या गाविस तथा अहिले धरान उपमहानगरपालिका वडा नं. ४, ५ र ६ विगतमा धरानको कृषि पकेट क्षेत्रमा लिने गरिएको थियो । उब्जनी हुने धान तथा सागसब्जी उब्जनीको हिसाबले पाचकन्याले सुनसरीको चार भागमध्ये एक भाग ओगट्न गरेको थियो अर्थात ५३ हजार ५ सय खेतीयोग्य जमिनमध्ये पाचकन्यामा ६ हेक्टरमा खेती हुने गरेको जिल्ला कृषि कार्यालय सुनसरीले जनाएको छ । जिल्लाभर ८७ हजार ५ सय ५० टन धान उत्पादन हुने गरेको थियो भने पाचकन्यामाात्र ८ देखि ९ हजार क्विन्टल धान उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ । तर पछिल्लो समय १५ प्रतिशत भन्दा बढी खेतियोग्य जमिन घडेरीमा परिणत भएको स्थानीयहरु नै बताउछन् ।
पाँचबर्ष अगाडिसम्म पाँचकन्यामा लहलह धान खेती, तरकारी खेती उब्जाउने उर्वरभूमि भएको भए अहिले त्यस्तो हुनै छाडेको धरान उपमहानगरपालिका वडा नं. ६ का स्थानीय रेशम राई बताउछन् । खेतियोग्य जमिन धमाधम प्लिटङ्ग भएपछि विगतको तुलनामा खेति हुनै छाडेको उनको भनाई छ ।
उनी भन्छन्–‘पाँचकन्या गाविस धरान उपमहानगरपालिकामा गाँभिएपछि यहाँको जग्गाको मूल्य ह्वात्तै बढेको छ, अहिले धुरको ५ लाख भन्दा कममा जग्गा नै पाइदैन । बर्षभरि खेति गर्दा कमाई हुँदैन, एउटा घडेरी विक्री ग¥यो भने करोडौ फाइदा हुन्छ, यसले गर्दा खेतियोग्य जमिन मासेर घडेरी बिक्री हुन थालेको हो ।
त्यस्तो त उब्जनी खेती बाझो रहनुमा युवाहरु वैदेशिक रोजगारमा जानु र बसाई सराई पनि प्रमुख कारण भएको स्थानीय विश्वराज कार्की बताउछन् । प्लटिङ्गका साथै खेती गर्ने युवावर्ग सबै विदेशिने र बसाई सराई गरी आउनेले खेतीयोग्य जग्गा घडेरीको रुपमा खरिद विक्री गर्ने गरेका कारण पनि खेतीयोग्य जमिन मासिदै गएको उनको भनाई छ । कार्की भन्छन्–‘वैदेशिक रोजगारीबाट आउनेहरुले जग्गामा जति पनि मूल्य हाल्न सक्छन्, विदेशबाट कमाएर ल्याएको पैसा घडेरीमै लाउने प्रचलन छ, जसले गर्दा खेतियोग्य जमिन मासिदै गएको हो ।’
धरानमा खेतीयोग्य जमिन प्लटिङ्गमा बिक्री हुन थालेपछि धरान उपमहानगरपालिकाले यसलाई रोक्न चासो नदेखाएको भने होइन । आफू वडाध्यक्ष हुँदा खेतीयोग्य जमिनलाई जोगाउन उपमहानगरपालिकाले नया योजना ल्याएको धरान उपमहानगरपालिका वडा नंं ६ का पूर्व वडाअध्यक्ष भुवनसिंह बस्नेत बताउछन् । उनले भने–‘म वडाध्यक्ष हुँदा खेतियोग्य जमिन रोक्न धेरै प्रयास गरियो, तर सम्भव भएन ।’
सरकारले गाविसलाई गाउपालिका, नगरपालिका तथा नगरपालिकालाई उपमहानगरपालिका, महानगरपालिका बनाएपछि जग्गाको मूल्य ह्वात्तै बढेसंगै कृषकहरुले आफूले उब्जाउदै आएको जग्गा घडेरीमा विक्री वितरण हुन थालेका हुन् । विगतमा यहाका खेतीबाट उत्पादन भएको धान तथा तरकारी खेती नेपालमा खपत भएर पनि विदेश निर्यात हुने अवस्था रहेको थियो तर अहिले यी ८० प्रतिशत भन्दा बढी धान तथा चामल छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था आइसकेको छ ।