श्रमदानलाई संस्थागत गर्दै हर्क साम्पाङ

  • मंसिर १९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/ तत्कालीन माओवादी द्वन्द्व उत्कर्षमा थियो । माओवादीले गाउँमा समाजसुधारक काम गर्न थालेको थियो । सामाजिक विकृतिलाई निरुत्साहित गर्ने श्रमलाई प्रवद्र्धन गर्ने काम थालेको थियो । सुनसरीको बराहक्षेत्र १ मिलनचोकदेखि सूर्यकुण्डसम्म सडक निर्माण गर्न माओवादीले उर्दी जारी गर्यो ।

सबैले अनिवार्य श्रमदान गर्नुपर्ने नियम राख्यो । श्रमदान गर्न नभ्याउनेले आर्थिक सहयोग गर्नुपर्ने भयो । एक घर एक व्यक्ति वा १ सय ४१ रुपैयाँ नगद । बजारका अधिकांश व्यापारीले आर्थिक सहयोग गरे । सबैका घरबाट एक जन श्रमदानमा निस्किए । आज सूर्यकुण्ड पर्यटकीय स्थलका रुपमा प्रवद्र्धनको कार्यक्रम पर्खिरहेको छ । बराहक्षेत्रकै नडाहादेखि चतरासम्म बीच जंगलबाट ठूलो सडक निकाल्ने माओवादी नेतृत्वले योजना बनाए । उसैगरी जनश्रमदान गर्नुपर्ने भयो । महिनौं दिन बढीको श्रमदानपछि सडकको ट्रयाक खुल्यो । अहिले सो सडक इटहरी– कान्छीचोक– कालाबन्जार– नडाहा– चतरा हुँदै धरान–चतरा मार्ग– पूर्वपश्चिम वैकल्पिक राजमार्ग, मदनभण्डारी राजमार्ग र पुष्पलाल मध्यपहाडी राजमार्गलगायतका सडकसँग जोडिएको छ । तत्कालीन समयमा जनश्रमदानले बाटो नखोलिएको भए सहिदमार्ग नामाकरण गरिएको सडकको परिकल्पना गर्न सकिँदैनथ्यो ।

धरान– विष्णुपादुका, हुलाकी राजमार्गलगायत अधिकांश सडक श्रमदानबाट निर्माण भएका छन् । धरान श्रमदानमा मात्र होइन, लागत सहभागितामा पनि उदार छ । धरानका दिवंगत नगर प्रमुख ध्यानबहादुर राईले धरानमा जनसहभागिताको अवधारणा ल्याए । त्यसपछि नगरप्रमुख भएका मनोजकुमार मेयाङ्बोले जनसहभागितालाई तीव्रता दिए । जनसहभागितामा स्थानीय सरकारको ६० प्रतिशत र स्थानीयवासीको ५० प्रतिशत लागत सहभागिता हुन्थ्यो । यो अभ्यासले धरान जनसहभागिताको सहरका रुपमा प्रख्यात भयो । जनसहभागितामा निर्माण भएका धरानका भित्री कालोपत्रे सडक हेर्ने देशका विभिन्न नगरका प्रमुख र पदाधिकारी आए । लागत सहभागितामै धरानको पहिचान बनेर भानुचोकमा उभिएको घण्टाघर, भूकम्प स्मारकजस्ता संरचना बने । जनसहभागितासँगै सफा र सुन्दर धरानका रुपमा यहाँको परिचय फेरियो ।

श्रम संस्कृति सिकाउँदै साम्पाङ
धरानको भूगोल दुई तिहाई भन्दा बढी ग्रामीण क्षेत्रले ओगटेको छ । ग्रामीण क्षेत्रको विकासमा श्रमदान सबैभन्दा महत्वपूर्ण पक्ष हो । पुराना हुलाकी मार्गको स्तरोन्नति, नयाँ सडकको ट्रयाक खोल्ने अधिकांश काम श्रमदानबाट भयो । पानीको मुहान निर्माण गर्ने, सार्वजनिक संरचना निर्माण गर्ने अधिकांश काम श्रमदानबाट सम्पन्न भएको छ । श्रमदान नयाँ काम होइन । तर धरानमा नगर प्रमुखका रुपमा हर्क साम्पाङ आएपछि उनले श्रमदानलाई संस्थागत गरे । श्रमदान गर्न नागरिकलाई आह्वान गरे । श्रमदानबाट खानेपानी ट्यांकी निर्माण गर्न अनुरोध गरे । खानेपानी धरानको समस्या हो । यसैको मुद्दाले नगर प्रमुख पद जितेका साम्पाङले श्रमदानबाट पानीको समस्या समाधान गर्न सकिन्छ भन्ने उदाहरण पेश गरे । धराने श्रमदानमा लागे ।

श्रमदान र लागत सहभागिताबाट ट्यांकी निर्माण
केही गर्न नसके पनि धरानलाई खानेपानी खुवाउने हर्क साम्पाङको अठोटले धराने प्रभावित बने । उनको योजनालाई निर्वाचनमा मात्र होइन कार्यान्वयनमा पनि सहयोग गर्दै आएका छन् । साम्पाङ आफैंले श्रमदिन घोषणा गर्ने र श्रमदान आह्वान गर्ने गर्छन् । उनको आह्वानपछि खोला बगर भरिन्छ । खोलामा ढुंगा बोक्ने, गिट्टी कुट्ने, पाइप तान्ने मान्छे भेला हुन्छन् । साम्पाङको अभियानका सुरुवाती दिनमा नेपालभरिका मान्छे श्रमदान गर्न आए । भारतका सिक्किम दार्जिलिङका मान्छे साम्पाङको श्रमदानमा आए । कलाकार, सेलिब्रिटी, राजनीतिक दलका नेता सबैले साम्पाङको अभियानमा हातेमालो गरे । सर्वसाधारणलाई श्रमदान गर्न प्रोत्साहित गरे ।

अहिले २ लाख १० हजार लिटर क्षमताको खानेपानी ट्यांकी धरान १३ स्थित निशाने खोला दोभानमा निर्माण भएको छ । खानेपानी ट्यांकीमा जम्मा भएको पानी धरान १२ स्थित स्वस्तिका चोक पानी ट्यांकीमा जम्मा हुन्छ । निशाने, सर्दू र खर्दू खोलाको पानी एकीकृत हुने यो ठाउँमा सहभागिताबाट एउटा फिल्टर ट्यांक र एउटा खानेपानी ट्यांकी निर्माण भएको छ । गोर्खा पिस फाउण्डेशन युके, हर्क साम्पाङ सपोर्ट कमिटी युके र धरान उपमहानगरपालिका बीच सन् २०२२ अगस्ट ६ मा संरचना निर्माण गर्ने सहमति भयो । ट्यांकीको जगको शिलान्यास सन् ०२२ अगस्ट २१ मा सम्पन्न भयो । विगत १ महिना अघिदेखि ट्यांकीमा पानी जम्मा भएर वितरण लाइनमा जान थालेको छ ।

प्रोजेक्ट म्यानेजर पूर्णप्रसाद लिम्बूका अनुसार यसको लागत स्टिमेट ४४ लाख ९० हजार २ सय ३३ रुपैँयाको छ । यो कुल लागतको ८८ प्रतिशत हो । नगरपालिका वा खानेपानी बोर्डबाट जनश्रमदान ११ दशमलव ८८ प्रतिशत अर्थात् ७ लाख ५७ हजार ७ सय रुपैँया हुने छ । यसको कुल लागत ६३ लाख ३६ हजार ९ सय ३६ रुपैँया बराबर पुग्छ । ट्यांकी निर्माण भएपछि धरान १०, १२, ११, १७, १८ र १९ नम्बर वडाका वासिन्दा लाभान्वित हुने विश्वास लिइएको छ । धरानमा खानेपानीको समस्या नभएर वितरण प्रणालीको समस्या हो भनिँदै आएको छ ।

श्रम संस्कृति पार्कमा श्रमदान
धरान ११ की पुनमकला राई बिहानै सर्दू खोला पुग्छिन् । ६ महिना अघिदेखि उनको नियमित काम हो । मेयर हर्क साम्पाङले श्रमदानको आह्वान गरेपछि उनी निरन्तर साम्पाङको अभियानमा छिन् । ‘कहिले गिटी कुट्छौं, कहिले ढुंगा बोक्छौं कहिले बिरुवा रोप्छौं, पानी लगाउँछौं, धरान राम्रो बनाऔं भनेर अभियानमा लागेका छौं हामी’, नयाँ नामाकरण गरिएको श्रमसंस्कृति पार्कमा आइतबार बिहान भेटिएकी पुनमले भनिन्, ‘प्रगति राम्रो छ, बोटबिरुवाहरु भर्खर रोपिरहेका छौं, कोही फलिरहेको छ, कोही फुल्दैछ, कोही बढ्दै छ । चट्टानका बीचमा परेकाहरु कोही मर्दैछ पनि, गोडमेल, पानी लगाइराख्यो भने बढ्छ, फल्छ, फुल्छ, बढेपछि खानुपर्छ, सबै जना भेला भएर ।’ पुनमका अनुसार देशका विभिन्न ठाउँबाट श्रमसंस्कृति पार्क कस्तो रहेछ भनेर हेर्न मान्छे आउने गरेका छन् । बगरलाई पार्कमा रुपान्तरण गरिएको छ । यसै वर्ष त्यति आकर्षक नभए पनि अर्को वर्षदेखि हेर्न लायक हुने पुनम बताउँछिन् । ‘अब कहाँकहाँबाट पूर्वपश्चिम भेला भएर चारै दिशाबाट दाजुभाइ दिदीबहिनीहरु आएर रोपिराख्नु भएको छ । दुई वटा बोटमा सुन्तला, कागती फलिरहेको छ । एक ठाउँमा अब्बक फल्दैथ्यो, पुनमले भन्छिन्, ‘अरु फल फल्न बाँकी छ, कलमी गरेको आँपहरु अर्को साल फल्छ होला मजाले, आशा गरिराखेका छौं ।’ पुनमको समूह छ । उनीहरु समूहमा श्रम गर्छन् । धरान ११ को उनीहरुको टोलबाट १० जना छन् । ‘हामी समूहमा आउछौं, आज चाहिं एकदुई जना दिदीबहिनीहरु घरको कामले आउनु भएन, ९, १० जनाको समूह छौं, बिहानै आउँछौं, पुनमले भनिन्, ‘खाना खान दिउँसो जान मन लागे जान्छौं, अल्छी लागेपछि यतै खाजा बनाएर खान्छौं, एकदुई घण्टा आराम गरेर फेरि काममा लाग्छौं ।’

धरान ११ कै दीपा राई फूलमा पानी लगाउँदैछिन् । अहिले धरानमा पानीको दुःख छैन । ट्यांकी बनिसकेको छ । अब पानीको दुःख नहोला भन्ने आशा छ, तर पनि त्यो पर्याप्त भने छैन । ‘हाम्रो वडामा पानीको समस्या छैन, कुनै कुनै कम्प्लेन आउँछ, पानी खोल्ने मान्छे र जोड्नेले मिस्टेक गरे भने मात्र नभए त धरानमा अहिले पानी प्रशस्त छ, दीपा प्रश्न गर्छिन्, ‘अहिले ट्यांकर हिंडेको छ त ? मर्निङ वाकमा निस्किएका धरान १३ का फुर्बु शेर्पा पार्कमा सघाउने काम पनि गर्छन् । ‘बगर पार्कमा परिवर्तन भइसकेको छ, भविष्यमा यसलाई अझै सुन्दर बनाउने प्लानिङ हुँदै छ, म धराने भन्दा गर्वको महसुस हुन्छ । धरानलाई श्रम संस्कृति भएको शहरका रुपमा चिनिंदै गएको छ,’ फुर्वा भन्छन्, ‘धराने भन्नासाथ तपाईंले श्रमदान गर्नु भयो त भन्ने प्रश्न सोधिन्छ, यो सुन्दा मलाई गर्व लाग्छ ।’
श्रम संस्कृति पार्कमा श्रम गर्नेहरुको तथ्यांक राखिन्छ । स्वतः स्फूर्त रुपमा कसले श्रमदान गर्यो भन्ने रेकर्ड नगर प्रहरीले राख्छ । पार्क पुग्नु अघि खाता लिएर बसेका नगर प्रहरीले यहाँ आउनुको प्रयोजन सोध्छन, श्रमदान गर्न आएको हो कि, घुमफिर गर्न ? श्रमदान गर्नेको नाम लेखिन्छन् । शनिबार ३१ जनाले श्रमदान गरेको तथ्यांक छ । शुक्रबार बिहान ९ बजेसम्म ११ जना उपस्थित भएर फुलमा पानी हाल्ने, मल हाल्ने र गोड्ने काम भइरहेको थियो । नगर प्रमुख हर्क साम्पाङले श्रमदान गर्न आह्वान गरेका दिन भने मान्छेको पाइला राख्ने ठाउँ हुँदैन ।

कार्यपालिकाको निर्णयविहीन योजना
हर्क साम्पाङले विदेशी सस्थाको समन्वयमा धरानको खानेपानी समस्या समाधान गर्न प्रयास गरे पनि सस्थागत निर्णय गर्न नसक्दा विवादित बन्न पुगेका छन् । खानेपानी ट्याङ्की मापदण्ड नपुर्याई निर्माण गरिएकाले सर्वमान्य हुन नसकेको एक कार्यपालिका सदस्य बताउँछन् । मापदण्ड नपुग्दा काएयपालिकाले अनुमोदन गर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘ट्याङ्की मापदण्डविपरीत छ, कार्यपालिकामा निर्णय भएको छैन’ ती काएयपालिका सदस्यले भने, ’खानेपानी बोर्डबाट पारित गर्नुपर्ने हुन्छ तर, २ वर्ष भयो बोर्डको बैठक बस्न सकेको छैन ।’
धरान उपमहानगरपालिकाको योजना पनि नभएकाले समस्या उत्पन्न भएको उनको भनाइ छ। ’खोला किनारमा संरचना निर्माण भएको छ, आईईई पनि गरिएको छैन, खोला क्षेत्रभित्र पक्की संरचना निर्माण भएको छ ।’ यद्यपि जनश्रमदानको पाटोलाई नकारात्मक भन्न नमिल्ने पनि कार्यपालिका सदस्य बताउँछन् ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved