धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा
कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा
सँगै जाउ स्वर्ग भनेको भए मै जाने थिईन र
जवाफ देउ प्यारा एकवचन बोल बोल्दैनौ किनर
इलाम I सन २०१८ मा प्रकाश सपुतको ‘बोल माया’ बोलको यो गितले निकै चर्चा पायो । वैदेशिक रोजगारीमा गएको छोरा, श्रीमान बाकसमा आउँदाका परिवार र श्रीमति मा पर्ने पीडा दृष्यमा समेटिएको म्युजिक भिडियोमा आम मानिसहरुले आफ्नो पीडा भेटेपछि धेरैलाई गीतले छोएको हो ।
देशमा रोजगारी नपाएपछि काम खोज्न विदेशीनु नौलो कुरा रहेन । प्रकाश सपुतको गीतमा जस्तै बाकसमा भरिएर आउनेको थुप्रै छन् । कतिपय त विदेशिएका अहिले सम्म सम्पर्क वीहिन बनेका छन । पाँचथरको यासोक घरभएका मानबहादुर खुलाल २०६२ सालमा कतार जान घरबाट हिँड्दा १८ वर्षका थिए । घरबाट हिँडेपछि १ वर्षसम्म उनी परिवारको सम्पर्कमै थिए । त्यस यता भने उनले न घरमा सम्पर्क गरे, न परिवारले खोजी गर्दा उनलाई भेट्नै सकेका छ ।
७१ वर्षीया ठगीमाया खुलालको कान्छा छोरा घर आउने आसामा दुई दशक बित्यो । आमालाई खुसी राख्ने सपना देखाएर पैसा कमाउन विदेश हान्निएको कान्छो छोरो अहिले सम्म सम्पर्कविहीन छन् । काखको छोरो आमालाई खुसी राख्ने भन्दै पैसा कमाउन गएको र अहिले सम्म सम्पर्क वीहिन भएपनि छोरा आउने आशा हराएको छैन । छोरो सम्पर्कवीहिन बनेदेखि आँखाका आँशु ओभाएका छैनन । ठगीमाया यतिका समय बितेपनि काखको छोराको खबर आएन भन्दै गहभरी आँशु पार्छिन । उनलाई अहिले, भरे नै टुप्लुक्क आएर आमा भनिहाल्छ कि भन्ने मनमा लागिरहेको छ । आँखाभरी आँशु पार्दे जतिवेला पनि आँगन तिर हेरीरहन्छन ।
घरको आर्थिक अवस्था कमजोर भएकाले कमाउन विदेश गएको छोराको अत्तोपत्तो नहुँदा ठगीमाया भक्कानीएकी छिन । काखको छोरो हराएपछि घरमा पतिको समेत निधन भएकाले पीडैपिडामा डुवेकी ठगिमाया छोरो आइपुगि हाल्छकी भन्ने आशामा छिन । उनी भन्छिन ‘म दिनैपिच्छे भगवान्लाई पुकारिरहेकी छु, छोरो जहाँ भएपनि एकदिन घर आइपुग्छ, पक्कै भगवानले मेरो इच्छा पूरा गर्नेछन्, अब मेरो आशा नै काछो छोरो घर आइपुग्छ कि भन्नेमात्रै छ ।’ बाल्यकालमै रहेको छोरो यसरी बेपत्ता होला भनेर उनले कल्पनासमेत गरेकी थिइनन्। तर, गाउँमा कमाइ भएन भनेर विदेश गएको छोरो फर्केर आएन । ‘बुढेसकालमा त्यही छोराको चिन्ताले धेरै पिरोलेको छ । इलाममै रहेकी मानबहादुरकी दिदी मीना आफ्नो भाइ नेपालै फर्किएको खबरसम्म आएपनि सम्पर्क हुन नसकेको बताउछिन । ‘बेपत्ता भएको केही समयपछि भाइ (मानबहादुर) नेपालै फर्किएका छन् भन्ने खबर त आयो तर अहिले सम्म पत्ता लागेको छैन ।,’ उनले भनिन्, ‘भाइ बेपत्ता भएयता आमाको आँसु अडिएको छैन, भाइ हराएपछि बुबा (मित्रबहादुर) को पनि निधन भयो ।’ मानबहादुरलाई घर फर्किन परिवारजनले मिडियामार्फत् नै आग्रह पनि गरे अहिले सम्म अत्तो पत्तो छैन ।