धरान/ मानिसले ठगेर खाने अनेकन आइडिया निकालेका छन् । धर्मको नाममा सर्वसाधारणलाई बेकुव बनाएर रकम कमाउने राम्रो तरिका अपनाइएको पाइएको छ ।
विहार घर बताउने एक भारतीय नागरिक सोमबार धरान ८ बरगाछीमा ६ खुटे गाईलाई ‘गौमाता’ भन्दै डुलाउँदै थिए । गाडीमा राखेर डुलाइएको सो गौमाता हेर्न आउने र पैसा चढाउनकको भीड रहेको थियो । स्वभाविक रुपमा गाईको चारवटा खुट्टा हुन्छन् तर त्यो गाईको भने जुरोमा दाहिने र देब्रेपट्टि पनि खुट्टा छ, अस्वभाविक रुपमा जन्म लिएको गाईलाई ‘गौमाता’ भन्दै डुलाउदै राम्रै रकम संकलन गर्ने नियत देखिन्छ ।
उनलाइ सो विषयमा सोध्दा नेपालका प्रमुख सहरहरुमा त्यसरी डुलाउने गरेको बताए । नाम बताउन इन्कार गरेका उनी नेपाली बोल्न सक्दैनन् थिए । उनले भने–‘गौमाताको दर्शन गरे सबैलाई फलदायी हुन्छ, त्यही भएर हामी नेपाल लगायत भारतका विभिन्न स्थानमा यसरी नै घुमाउदै आएका छौ ।’ कति रकम आर्जन हुन्छ र त्यो भने बताउन चाहेनन् ।
भजनको गीत लगाउदै दर्शन गर्नेहरुको भीड भइराख्दा एक जना सहयोगी महिला भने घर घरमा रकम उठाउने गरेका थिए । फोटो खिच्न खोज्दा ती महिलाले सञ्चारकर्मीलाई नखिच्न भन्दै धम्काइएकी थिइन् । उनी पनि नेपाली स्पष्टसँग बोल्न सक्दिनन्थिइन् । उनले फोटो खिच्ने क्रममा सोधिन्–‘किन खिचेको, के प्रयोजनको लागि खिचेको, तपाईको नियत के हो ?’
सर्वसाधारणले भने गाडीमा डुलाउँदै ल्याएको गौमातालाई १० देखि ५ सय रुपैया दिने गरेका थिए । सर्वसाधारणलाई गौमाता भन्दै बेकुब बनाएर रकम असुल गर्दा समेत प्रशासनको ध्यान जान सकेको छैन । त्यसरी डुलाउने अधिकार छ कि छैन, डुलाउदा कोबाट स्वीकृत लिनुपर्छ लगायतका प्रश्न अनुत्तरित छन् ।