धरान । मोरङको केराबारी ९ का सर्वसाधारण पुल निर्माण शुरु भएको लामो समयसम्म पनिा निर्माण सम्पन्न नहुदा बजारा आउजाउमा समस्या भएको छ । मोरङको बेलबारी केराबारी र लेटाङ जोड्ने तुर्के खोलामा आठ बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नहुदा त्यहाका सर्वसाधारणलाई बजारसम्म आउजाउमै समस्या हुने गरेको छ ।
केराबारी ९ घंघरुका हरेन्द्र पौडेलले यो पुल निर्माण नहुँदा बजारसम्म कृषि समाग्री बोकेर ल्याउन समस्या हुने बताए । गाउमै टेम्पो चलाएर गाउका किसानले उत्पादन गरेको कृषि समाग्री बजारसम्म ल्याउने गरेका उनले बर्षाद्को समयमा खोलाको बीचबाट टेम्पो ल्याउनुपर्ने बाध्यता हुदा टेम्पो नै डुब्ने खतरा हुने बताए । उनले भने–‘केही समय अगाडि पुल नहुदा आएको बाढीले गाउँका तिम्सिना थरका एक टेम्पो चालकलाई टेम्पोसहित बगायो, बाल बाल उनी बचे ।’
हिउदमा पनि बर्षादको समयमा सबैभन्दा बढी समस्या हुने उनी सुनाउछन् । तुर्के खोलाको पुल अहिले भोट बैंक बनेको स्थानीयको भनाई छ । केराबारी ८ घंघरीका निर्मल चापागाईले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पुल निर्माणका एजेन्डालाई प्राथमिकतामा राख्ने गरेको बताए । उनले भने–‘प्रत्येक निर्वाचनमा यो पुल दलहरुको मुख्य एजेन्डा हुन्छ, तर पुल निर्माण कहिल्यै हुँदैन, जनतालाइ झुक्याएर भोट तान्ने बाहेक राजनीतिकहरुको अर्को उद्देश्य नै छैन ।’
स्थानीय मनोज तिम्सिनाले यो पुल निर्माण नहुदा धेरै समस्या भएको बताउछन् । गाउमा उत्पादन भएको कृषि सामाग्री बजारसम्म लान समेत समस्या भएको उनी सुनाउछन् । उनी भन्छन्–‘गाउमा कृषि पेशा गरेर जीविकोपार्जन गर्ने धेरै कृषकहरु छन्, बजारसम्म कृषि सामाग्री पु¥याउन यो पुल नै बाधक बनेको छ ।’
यी मात्र हैन गाउका धेरै सर्वसाधारण तुर्के खोलामा पुल समयमै नबन्दा आजित बनेका छन् । पुलकै कारण उनीहरुको दिनचर्या नै कष्टकर बन्दै गएको छ ।
भलुवाबासीले बर्षदमा बढी आएको बढी समस्या भोग्ने गरेको गुनासो गर्छन् । त्यसो त उनीहरुले पुल निर्माण चाडो गरिरदिन जिल्ला प्रशासन, कहिले मुख्यमन्त्री कार्यालयमा नधाएको भने होइन । उनीहरुले ठेकेदारलाई चाडो निर्माण गरिदिन दबाब दिन आग्रह गर्दै सम्बन्धित निकायमा धाउदा समेत उनीहरुको समस्या समाधान भएको छैन ।
केराबारी ९ को तुर्के खोलामा ३० मिटर लम्बाइको पुल बनाउन केन्द्रीय योजनामै चार करोड ५५ लाख बजेट छुटाइएको थियो । २०७१ साल निलगिरी कन्स्ट्रक्सनले ठेक्का मार्फत सो पुल निर्माणको जिम्मा पाएको थियो । निर्माण शुरु गरेको आठ वितिसक्दा समेत पुल निर्माणको काम सकिएको छैन ।
पुल निर्माण सम्पन्न भए केराबारी ९ को भलुवा, घंघरु, भालुगौंडे लगायतका बासिन्दाहरूले प्रत्यक्ष रूपमा लाभ लिन पाउनेछन् । स्थानीय अर्जुन पौडेलका अनुसार तुर्के खोलाबाट दैनिक १ हजार भन्दा बढीले आवातवात गर्ने बताउछन् । यहीबाटो भएर निजी रसरकारी विद्यालयका विद्यार्थी बोक्ने सवारी साधन चल्ने भएपनि सम्बन्धित पक्षले ध्यान नदिएको उनको गुनासो छ ।
पुल निर्माण कार्यमा ढिलाइ भएको विषयमा निलगिरी कम्पनीका प्रबन्धक युवराज डाँगीले बर्षाद्का् समयमा निर्माण गर्न कठिन भएकोले मंसिर पुस सम्ममा पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसक्ने बताए । उनले भने–‘सडक डिभिजन कार्यालयले नै ठेक्का लागेपछि रिडिजाईन गर्ने भनेर तिन वर्ष लगायो । कोरोनाका कारणले पनि काम गर्न पाइएन । यही असार मसान्त सम्ममा हस्तान्तरण गर्ने योजना बनाए निर्माण सामाग्रीको मूल्य आकासिएकोले निर्माण सम्पन्न ढिलो भएको हो ।’