धरान । मगर जातीहरुको लिपि सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । धरानका ४ स्थानमा लिपि सम्बन्धी प्रशिक्षण दिएको हो ।
अघिल्लो वर्ष कोरोनाका कारण दुई वडामा सम्पन्न गरेको प्रशिक्षण यस वर्ष ४ वटा वडालाई लक्षित गरिएको थियो । प्रशिक्षण समुह क अन्तर्गत वडा नम्बर १९ को किरातेश्वर मावि, ख अन्तर्गत धरान १७ को पञ्चकन्या मावि, समुह ग अन्तर्गत धरान १३ को अमर आधारभुत मावि र समुह घ अन्तर्गत धरान १८ को जेम सेकेण्डरीमा प्रशिक्षण सम्पन्न भएको छ ।
नेपाल मगर संघ धरान उपमहानगर कमिटीको आयोजना भएको लिपि प्रशिक्षणमा ६ वर्षको उमेर देखि ६५ वर्ष उमेर सम्मका मगर समुदायको उपस्थिती रहेको थियो । संघका अध्यक्ष चित्र मगरका अनुसार चारै स्थानमा भएको प्रशिक्षणमा ६५ जनाको सहभागिता रहेको थियो । ११ जना गैह्रमगरहरुले पनि लिपि प्रशिक्षण लिएको संघका अध्यक्ष मगरले बताए ।
प्रशिक्षण पश्चात लिएको परिक्षामा ५ जना उत्कृष्ट छानिएका छन् । मगरका अनुसार समुह क बाट धरान १९ की खुशी थापा मगर, समुह ख बाट धरान १७ की सुष्मा थापा मगर, ग बाट १६ की प्रकाश कला राई र घ समुहबाट धरान १६ की स्वस्तिका मगर र सोनिका मगर रहेकी छिन् ।
धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको मगर अक्खा लिपि प्रशिक्षणको लिला राना मगरले सहजीकरण गरेकी थिईन् । धरानका सबै वडाहरुमा लिपि प्रशिक्षण सम्पन्न मगरले बताए । मगर लिपिको संरक्षण तथा प्रयोगमा ल्याउन प्रशिक्षणको आयोजना गरिएको उनले बताए ।