धरान । संखुवासभाको एक पालिकामा श्रीमान् श्रीमतीनै मेयर र उपमेयरको उम्मेदवार बनेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि र खाँदबारी नगरपालिकामा स्थानीय चुनावका लागि श्रीमान श्रीमतीले उम्मेदवारी दिएका हुन् । जनता समाजवादी पार्टीले खाँदबारी नगरपालिकाको मेयरमा सिताराम तिम्सिना र उपमेयर मैयाँदेवी चिमरियाको उम्मेदवारी दर्ता गराएको छ । उनीहरु श्रीमान श्रीमति हुन् । खाँदबारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिताराम र मैयाँदेवी श्रीमान् र श्रीमतीको नै उम्मेदवारी परेको हो ।
मेयर पदका उम्मेदवार बनेका तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषदको केन्द्रीय सदस्य हुन् । पार्टीले जिम्मा दिएपछि श्रीमान–श्रीमतीले नै एउटै पार्टीबाट एउटै पालिकामा उम्मेदवारी दिएको तिम्सिनाले बताए । उनले भने, ‘जोडीलाई स्थानीय निर्वाचनमा जिम्मेवार दियो, त्यही भएर पार्टीले टिकट दिएसँगै हामीले मेयर र उपमेयरका लागि मनोनयन गरेका छौं ।’
खाँदबारी नगरपालिकामा मेयरका लागि लागि ३ स्वतन्त्र सहित ९ जनाको उम्मेदवारी दर्ता गराएका छन् । खाँदबारी नगरपालिका नगर प्रमुखमा पाँच दलीय गठबन्धनबाट मेयर पदका नेपाली कांग्रेसका महेश थपलिया, उपमेयरमा नेकपा माओवादी केन्द्रका दिब्यराज बरालको उम्मेदवारी परेको छ ।
मेयर पदका लागि नेकपा एमालेबाट जीतबहादुर घिमिरेको उम्मेदवारी परेको छ । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, राष्ट्रिय जनमोर्चाका हेमकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ खनाल र स्वतन्त्रबाट प्रविन कार्की, सुदिप गुरुङ र खड्ग बहादुर दमाईले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपमेयरमा एमालेबाट महेश्वरा बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिरादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। ११ वटा स्थानीय तह रहेको खाँदबारीमा ५७ पदका लागि १ सय ४१ जनाको उम्मेदवारी परेको हो ।