धरान । आर्थिक, शैक्षिक र राजनैतिक हब भनेर चिनिएको विराटनगरको शाख पछिल्लो ५ वर्षमा गिराउने काम कांग्रेस नेतृत्वमा भएको नेकपा एमालेका केन्द्रिय सदस्य सागर थापाले आरोप लगाएका छन् ।
विराटनगरका एमालेका तर्फबाट मेयर र उपमेयर सँगको साक्षात्कार कार्यक्रममा थापाले ५ वर्ष अघि चुनिएका जनप्रतिनिधीले केही काम नगरेको बताए । अघिल्लो निर्वाचनमा कांग्रेसबाट भिम पराजुली मेयर रहेका थिए । उनले भने, ‘५ वर्षअघि चुनिएर आएका जनप्रतिनिधिले विराटनगरका लागि केही गरेनन्, सुतेर बसे, विराटनगरको गुमेको शाख फर्काउने काम अब एमालेले गर्ने छ । विराटनगरको समृद्धिका लागि नयाँ योजना ल्याइने छ ।’
महानगरमा देखिएको बेथिती, कुरुती उजागर गर्दै एमाले विराटनगर बनाउने दीर्घकालीन योजनासहित चुनावमा होमिएको उनको भनाइ छ । ‘महानगरमा चुनिएर आएको यसअघिको नेतृत्वले केही गर्न चाहेको भए विराटनगरको हालत कमजोर नहुने उनको दाबी छ । ढकालले मुलुकको राजनीति फरक ढङ्गले अघि बढिरहेको बताए । उनले भने, ‘सत्तारुढ दलहरु गठबन्धन गरेर एमालेविरुद्ध उभिएका छन् । एमालेविरुद्ध सारा शक्ति लागेका छन्, तर एमालेलाई जनताको साथ छ । सबैको विश्वास जितेर अब विराटनगरमा चुनाव जित्ने पालो एमालेको हो ।’
एमालेले विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर र जसपाका अमरेन्द्र यादव उपमेयरका उम्मेदवार छन् ।