धरान । आसन्न स्थानीय तहको निर्वाचनले जिल्लामा राजनीतिक सरगर्मी बढाएको छ । यतिबेला देशभर स्थानीय तहका प्रमुखदेखि वडा सदस्य बन्ने उम्मेदवारको चर्चा भइरहेको छ । दलहरू आकांक्षीको सूची बनाइरहेका छन् ।
यसै क्रममा सुनसरीमा नेपाली कांग्रेसले आकांक्षीहरूको आवदेन नै मागेको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राप्रपा लगायतका दल पनि उम्मेदवार छनोटको गृहकार्यमा छन् ।
उम्मेदवारी दिने र उम्मेदवारीमा आकांक्षा राख्नेमा अधिकांश स्थानीय तहको प्रमुख नै छन् । सबै जसो स्थानीय तहका प्रमुखले दोहोरिने चाहना राखेका छन् । टिकट कसको पोल्टामा पर्ने हो त्यो उम्मेदवारी दर्तापछि मात्रै टुंगो लाग्नेछ । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले फेरि एक पटक अध्यक्ष हुने आकांक्षा देखाएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट हरिनगरको अध्यक्षमा बलियो दाबेदार भएको राजनीतिक वृत्तमा चर्चा छ ।
कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले पनि पुनः एक पटक पालिका अध्यक्षमा दाबी गरेका छन् । आफुले अगाडि बढाएको विकास निर्माणको कामलाई निरन्तरता दिन पुनः दोहो¥याउन लागेको बताए ।
इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेताले पनि एक कार्यकाल पुनः दोहोर्यlउन मनस्थिति बनाएर लबिङ गरिरहेका छन् । आफू बलियो उम्मेदवार भएकाले यसपालि टिकट पाउनु पर्ने नगरप्रमुख मेहेताको माग छ । कोरोना महामारीले धेरै काम गर्न नपाएका फेरि पुरै समयको लागि पुनः एक पटक दिनुपर्ने उनको भनाई छ ।
गढी गाउँपालिका अध्यक्ष श्री प्रसाद यादवको पनि दोहोरिने इच्छा छ । उनले पार्टीमा दावी पनि गरेका छन् । ‘फेरि अध्यक्ष हुने आफूमा मात्रै भर पर्दैन् । पार्टीले, जनताले अनुमोदन गर्नुप¥यो,’ उनले भने । पार्टीले जिम्मेवारी दिएमा फेरी अध्यक्ष बन्न तयार रहेको उनको भनाइ छ । ‘रोएर पद लिने होइन्’, उनले सुनाए । कोरोनाका कारण अपेक्षित काम गर्न नपाएकाले पार्टी र जनताले एक पटक अवसर दिए विकास गरेर देखाउने उनको भनाइ छ ।
देवानगञ्ज गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताले पालिका अध्यक्षमा फेरि दोहोरिने इच्छा देखाएका छन् । यस्तै बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरी, दुहबी नगरपालिकाका नगरप्रमुख बेद नारायण गच्छदार, रामधुनी नगरपालिकाका नगरप्रमुख जयपप्रकाश चौधरी, बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले पनि दोहोराउन इच्छा देखाएका छन् ।
यसैगरी धरान उपमहानगरपालिकाका मेयर तिलक राई र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पनि मेयरमा पुनः हुने इच्छा देखाएका छन् । भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव पनि पुनः दोहोर्यlउन चाहेका छन् । गत निर्वाचनमा जिल्लामा एक मात्र पालिकामा जसपाबाट जितेका अध्यक्ष यादव नेकपा एमालेबाट दोहोराउन लागेका हुन् । यादव भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षको लागि बलियो उम्मेदवार हुन् ।
गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरीमा नेपाली कांग्रेस ठुलो दल बनेको थियो । ८ स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको कांग्रेसले धरान उपमहानगरपालिकाको उप निर्वाचनमा करिब ३० वर्षको इतिहासपछि मेयरमा कांग्रेसले जितेको थियोे । यससँगै सुनसरी जिल्लामा ९ वटा स्थानीय तह कांग्रेसले जितेको थियोे ।
दुहबी, इनरुवा, रामधुनी नगरपालिका र कोशी, हरिनगर, देवानगञ्ज, बर्जु, गढी गाउँपालिकामा कांग्रेसले प्रमुख उपप्रमुख दुवै पदमा जितेको हो । उप निर्वाचनमा धरान उपमहानगरपालिकाका मेयरमा कांग्रेसका उम्मेदवार विजयी भए थिए ।
नेकपा एमालेले इटहरी र धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा प्रमुख उपप्रमुख तीन वटै स्थानीय तहमा जितेको थियो । एमालेबाट निर्वाचित धरान उपमहानगरपालिकाका मेयरको मृत्यु भएपछि उपनिर्वाचनमा कांग्रेसले मेयर जित्न सफल भयो ।
तत्कालीन संघीय समाजवादी पार्टी फोरमले भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित जिल्लाका ६ वटा वडामा वडाध्यक्ष जितेको थियो । ६ जना निर्वाचित अध्यक्ष मध्ये एकजना नेकपा एमाले, एकजना नेकपा एस र दुईजना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
यसपालि जिल्लामा पाँच दलिय गठबन्धन मिलेर स्थानीय तहको निर्वाचन लड्ने निर्णय गरेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी मिलेर स्थानीय तहको निर्वाचन लड्नलाई कार्यदल नै बनाउने सहमति गरेका छन् । नेकपा एमाले र राप्रपाले एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् ।