बाध्यताले विदेशिनेको दशाः नाटक ‘बन्द बाक्सा’

  • चैत २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । ‘अनुहारको चाउरी छिप्पिंदै गरेको आमाको सहारा हेरें । कुप्रिएको ढाड सोझ्याउने पटुका सकिएर झन कुप्रो हुँदै गएको देखें । मलाई काखमा राखेर को खाइ ? को खाइ ? भन्दै आधा पेट काटेर आमाले ख्वाएको दिन सम्झेर ल्याएँ ।’

‘सिमेन्टीको बजारमा अनगिन्ती सपना बोकेको छुस्स अनुहार लिएर विदेशिएँ । वर्षाको मुसलधारे धार घरको छानाबाट झर्दा ‘टाल्छु’ भनी हजार कोसिस गर्दा पनि झन रिनको भारी थपिएपछि, ‘हामी मात्र भोटर हो’ भन्ने बुझेपछि, हरियो पासपोर्ट बोकेर आकाशमा उड्दै गर्दा निकै ठूलो सास फेरेको थिएँ तर, पचास डिग्री घाममा बेल्चा हान्दाहान्दै सास मात्र फेर्न सकें तर लिन सकिनँ ।’

मुलुकमा आत्मनिर्भर हुने हजार प्रयास गर्दा पनि व्यवस्थाको विकृत रुपको कोपभाजनमा परेको एउटा युवाको आत्मा रोइरहेको छ ।

‘मेरो देशमा सायद यो हरियो पासपोर्ट बनाउने व्यवस्था नभएको भए यो परिवार यसरी बिचलित हुँदैन थ्यो होला ।’

जाँदा सुन्दर भविष्यको सपना बोकेर जहाजमा गएको युवा फर्किंदा बन्द बाकसमा फर्किएको छ । युवाको आत्माले मुलुक चलाउने ठेक्का लिएका ती तमाम ठेकेदारहरुलाई धिक्कारिरहेको छ, ‘तिमीलाई दिने एक भोट पनि घट्दैनथ्यो होला ।’ अब आउने चुनावपछि बन्ने सरकारलाई उसले अनुरोध गरेको छ । ‘कृपया बन्द गरिदेऊ हरियो पासपोर्ट बनाउने व्यवस्था बाकसको बोझ लिन सक्दैन यो परिवारले र सारा नेपालीले ।’

व्यवस्था परिवर्तन भए पनि बाध्यता परिवर्तन नभएको नेपाली युवाहरुको प्रतिनिधि पात्र हो पारुहाङ । मुलुकमै स्वरोजगार हुने प्रयास निर्रथक भएपछि बन्धकी राखेको जमिन निखन्न, सुम्निमाको रहर पूरा गर्न र आमाको थाप्लोको रिनको बोझ उतार्न ऊ विदेशिएको छ । विदेशिए पनि उसको सपना पूरा हुन सकेको छैन । बाध्यताको गर्तमा उसले प्राण त्याग गरेको छ । उसको अतृप्त आत्माले त्यही बाध्यता फेरि आउने पुस्तालाई हस्तान्तरण गरेको छ । ‘अब हाम्रो सपना आउने सन्तानले पूरा गर्ला ।’

धरानमा नाट्यक्षेत्रको व्यावसायिक अभ्यास र प्रशिक्षण गराइरहेको रङ्गभूमि एकेडेमीले प्रस्तुत गरेको मिलन चाम्लिङ राईको लेखन निर्देशन मञ्चित नाटक ‘बन्द बाक्सा’ को प्रिमियर शो गरिएको छ ।

सञ्चारकर्मीमाझ प्रिमियर गरिएको नाटक आइतबारदेखि आगामि ०७९ वैशाख ३ गतेसम्म धरानस्थित सैनिक भवनमा मञ्चन हुनेछ । प्रत्येक दिन बेलुका साढे ४ बजेदेखि मञ्चन हुने नाटकले पूर्वी पहाडी जिल्लाको राई समुदायको लय, भाका, रहनसहन परिवेशलाई जीवन्त टिपेको छ ।

लोक संस्कृतिको उद्घाटन, मौलिक लय र झर्रा संवादका कारण नाटक ग्राह्य बनेको छ ।

‘मान्छेको जुनी जाँदा आकाशैमा, आउँदा बाकसैमा, जेठा के गर्छौ तिम्रो लेखान्त नै त्यस्तै रहेछ । तिमीलाई घरको धुरीले छेक्नु खोज्यो मानेनौं । घरको थामले पनि पक्रिन खोज्यो मानेनौ । ढोकाले पनि छेक्नु खोज्यौ मान्दै मानेनौ । तिमीले उतैको विश्वास गर्यौ । राम्रो बाटो लिएर जानू, गर्नु पर्ने दुखः खेल्नु पर्ने भाग–भोग यति नै रहेछ दुःख नमानी जाऊ है ।’

आमाको आँशु, प्यारीको रोदनले छेक्न नसकेको पारुहाङको वैदेशिक यात्राको बाटो, सुन्दर सपना निर्माणको बाटो अधुरोमै टुङ्गिएको छ । अब ऊ अलौकिक यात्रामा निस्केको छ । नाक्छोङ अह्राइ, बुझाइ गर्दैछन् । पारुहाङले आफ्ना सांसारिक बोझ आउने पुस्तालाई सुम्पेको छ ।

नाटक ‘बन्द बाक्सा’ ले स्थानीय सरकारको नातावाद, कृपावादको धज्जी उडाएको छ । ‘देशमै केही गरौं’ भन्ने भावना भएका युवालाई कसरी वैदेशिक रोजगारीको भुमरीमा फसाउन आजको सरकारको अव्यवहारिक नीतिले मलजल गरेको छ भन्ने जीवन्त चित्रण नाटकमा गरिएको छ ।

‘युवालाई हरियो पासपोर्ट होइन, सरकारको सपोर्ट चाहिन्छ भन्ने विषयमा नाटक केन्द्रित छ ।’ निर्देशक राईले भने ।

मञ्चमा हरि ईवाहाङ लिम्बू, सम्झना राई, रमिता राई, उदिप ईवाहाङ लिम्बू, बलबहादुर राई, दिपेन्द्र राई, इन्द्र राई, विशाल नाल्बो, एसिका राई, सपना तामाङ र प्रियङ्का राई देखिएका छन् ।

नाटक आगामी वैशाख ३ गतेसम्म हरेक दिन दिउँसो ४ः३० बजे मञ्चन हुँदैछ । शुक्रबार र शनिबार दिउँसो १ बजेसमेत हुनेछ । प्रवेश शुल्क ३ सय रुपैयाँ राखिएको छ । विद्यार्थीले २ सय रुपैयाँमा प्रवेश पाउने एकेडेमीका निर्देशक विष्णु मोक्तानले जानकारी दिए ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved