धरान । भगवान् रामचन्द्रको सम्झनामा चैत्र शुक्ल नवमीका दिन मनाइने ‘राम नवमी’ पर्व आइतबार देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइयो । तर धनकुटाको हिलेमा यो वर्ष पनि मेला लागेन ।
रामनवमी पर्वकै दिन देशका विभिन्न ठाउमा मेला समेत लाग्ने गर्दछ । कोरोनाकै कारण दुई बर्ष यस्ता मेला लाग्न सकेको थिएन । धनकुटाको हिलेमा प्रत्येक बर्ष राम नवमीका दिन मेला लाग्थ्यो । तर कोरोनाको जोखिम घट्दै गए पनि यस वर्ष हिलेमा मेला लाग्न नसकेको स्थानीय कविराज घिमिरे बताउँछन् । उनले भने, ‘विगतका बर्षहरुमा रामनवमीका दिन भव्य मेला लाग्थ्यो, तर कोरोनापछि भने त्यसरी मेला लाग्न सकेको छैन, अझै पनि कोरोनाको सन्त्रास सर्वसाधारणमा भएर हुनसक्छ मेला नलागेको ।’
मेलाको साटो रामनवमीका दिन हिलेमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता शुरु भएको उनले बताए । रामनवमीका विगतमा पनि मेलासँगै विविधि खेलकुदका गतिविधि हुने गरे पनि यस बर्ष भने रामनवमीमा प्रदेशस्तरीय भलिबल खेल मात्र भएको उनको भनाई छ । उनले भने, ‘कोरोनाले यस्ता सबै कुरा कोल्याप्स बनाइदियो, अझै सहज बन्दै गएमा पुनः मेला लाग्न सक्छ ।’
उद्योग वाणिज्य संघ धनकुटाका पूर्व अध्यक्ष लालचन्द गोङ्वाले कोरोनापश्चात मेलामात्र हैन व्यापार व्यवसाय समेत विगतको जस्तो हुन नसकेको बताउँछन् । होटल व्यवसायी समेत रहेका गोङ्वाले भने, ‘कोरोनाले नेपालीहरुको चाडपर्व मात्र हैन, व्यवसाय नै चौपट बनायो, थिलथिलो भएको व्यवसाय अझै पनि तग्रिंन समय लाग्छ, मान्छेसँग पैसा नै छैन मेला लाग्ने कुरा त परै जाओस् ।’
अहिले अवश्था सहज बन्दै गएको बताउदै उनले अब भने व्यापार व्यवसायले केही लय समाउने बताए । उनले विगतकै जस्तो सहज बन्दै गयो भने फेरि मेला लाग्न सक्ने बताए । उनले भने, ‘दुई बर्ष रामनवमी मेलामा समयमा हिलेमा केही थिएन, यस बर्ष भने प्रदेशस्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ, आगामी दिनमा यस्तै सहज बन्दै गएमा पुनः हिलेमा विगतकै जस्तो मेला लाग्ने सम्भावना छ ।’
मुलुकमा कोरोना संक्रमण सहज बन्दै गएपछि रामनवमीमा चहलपहल बढेको छ । पर्वमा विश्वास राख्नेहरुले हिलेमा पनि पनि राम मन्दिरमा गएर पूजाआजा गरेको घिमिरे बताउँछन् । धनकुटाको हिलेमा मात्र हैन राम नवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुवारिमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने गरेको छ । राम नवमीको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।