धरान । दिर्घकालिन रुपमा धरानको खानेपानी समस्या समाधान गर्न सन २०१२ देखि खानेपानी परियोजना संचालन भए पनि समस्या यथावत रहे पछि मन्त्रालयले चासो देखाएको छ ।
शहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण तथा अनुदानमा आएको धरानको खानेपानी परियोजनाको काम पूरा भएर बोर्ड गठन भइसक्दा पनि धरानमा खानेपानी समस्या जस्ताको तस्तै भएको पाइएपछि मन्त्रालयले चासो देखाएको हो ।
खानेपानीको अवस्थाको वास्तविता अध्ययन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयले ५ सदस्यीय अध्ययन समिति गठन गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए । उनका अनुसार समितिले धरानको खानेपानी आयोजनाको अवस्थाबारे अध्ययन गर्नेछ । उनले भने, ‘यो समितिले धरानको खानेपानी आयोजनाको अवस्था बुझेर समस्या समाधानको उपाय अवलम्बन गर्छ ।’
मेयर राईका अनुसार सहरी विकास आयोजनाका निर्देशक सुरेन्द्रमोहत श्रेष्ठको संयोजकत्वमा खानेपानी मन्त्रालयका प्रतिनिधि, धरान खानेपानी व्यवस्थाप बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेल र धरान उपमहानगरका योजना महाशाखा प्रमुख इन्जिनियर सुरज श्रेष्ठ लगायत छन ।
प्रमुख राईले आयोजना बोर्डमा सरे पनि काम पूरा नभएको बताएका छन् । धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका प्रमुख राईले भने, ‘परियोजना पूरा नभई बोर्डमा आएको छ, यसलाई पूरा नगरेसम्म धरानमा समस्या यस्तै हो, आयो्जना पूरा गरेर हस्तान्तरण गर्नुप¥यो भन्ने हाम्रो भनाई हो, संस्थानको संरचनाको ममर्त समेत पूरा गर्नुप¥यो ।’ यस विषयमा सम्बन्धित ठाउमा समेत धेरै पटक कुरा राखेको मेयर राईले बताए । उनले एसियाली विकास बैक (एडिबि) को ऋण तथा अनुदान सहयोग आएको परियोजनाको म्याद सकिए पनि काम भने सम्पन्न नभएको बताए ।
सन् २०१२ मा आएको परियोजना २०१७ सम्म सक्ने भनिएको थियो । समयमै परियोजना सम्पन्न नभए पछि दुई पटक समय थप गरिएको थियो । अहिले परियोजनाको काम पुरा नभईनै धरान उपहानगरपालिकाका प्रमुख तिलक राईको अध्यक्षतामा धरान खानेपानी व्यवस्थापन बोर्ड गठन भइसकेको छ । तर पहिलाको भन्दा पनि अहिले झन विकराल अवस्था भएको सर्वसाधारणहरुले बताउदै आएको छ । विगतमा खानेपानी संस्थानले् खानेपानी समस्या भएको अवस्थामा ट्ंयाकरबाट पानी बोकेर भएपनि सर्वसाधारणलाई पानी खुवाएको थियो । तर बोर्डको एउटा पनि ट्यांकर छैन । ट्यांकरको विकल्पमा उपमहानगरपालिकाको १ नं. वारुणयन्त्रलाई पानी बोक्नकै लागि प्रयोग गरिएको छ । ४ हजार लिटर क्षमताको वारुणयन्त्रले धरानका सबै वडालाई पानी पु¥याउन नै समस्या भएको स्वयम् बोर्डका पदाधिकारीहरु नै बताउदै आएका छन् । ट्यांकर चालक भक्त क्षेत्रीले भने, ‘एउटा ट्र्यांकरले खानेपानी वितरण गर्न समस्या भएपछि, बोर्डले अर्को ट्यांकर थप्न लागेको छ ।’
यता सर्वसाधारणले पनि ट्यांकरमा बोकेर ल्याएको पानी पर्याप्त नभएको बताउने गरेका छन् । ४ हजार लिटर पानीबोकेर गएको ट्यांकरको पानी एक घरलाई १० लिटर समेत नपुग्ने गरेको उनीहरुको गुनासो छ ।